काठमाडौँ, फागुन २६
युवा निर्देशक दीवाकर भट्टराई र अभिनेत्रीमा दीपिका प्रसाइँले आउँदो बैशाखमा लगनगाँठो कस्ने भएका छन् ।इन्गेजमेन्ट र कागजी विवाह गरिसकेका उनीहरुले हिन्दू परम्परा अनुसार लगनगाँठो कस्न लागेका हुन् । बैशाखमा उनीहरु औपचारिक रुपमा श्रीमान्–श्रीमती बन्ने लागेको खबर बाहिरिएको छ ।
प्राप्त जानकारी अनुसार आउँदो बैशाख २४ गते विवाह बन्धनमा बाँधिन लागेका हुन् । विवाहको मिति पक्का भने नभइसकेको दीवाकरले बताए । उनले भने ‘भोली बुबा आउँदै हुनुहुन्छ । भोली वा पर्सीसम्ममा डेट फिक्स हुन्छ ।’
दीपिकाले दीवाकर निर्देशित फिल्म ‘ऐश्वर्य’ बाट डेब्यू गरेकी थिइन् । यही फिल्मको सेटबाट उनीहरुको प्रेम सम्बन्धमा बाँधिएका थिए । फिल्मको छायांकन सकिए लगत्तै उनीहरुले गोप्य रुपमा इन्गेजमेन्ट र कानुनी विवाह गरेका थिए ।
‘ऐश्वर्य’ बाट सुखद डेब्यू गरेकी दीपिकाले दोस्रो फिल्म ‘छक्का पञ्जा ३’ गरिन् लगातार दुई हिट फिल्म दिएको खुसीमा उनले आफ्नो प्रेम सम्बन्ध सार्वजनिक गरेकी थिइन् । दीवाकर र दीपिकाले एकै दिन एकै पटक आ–आफ्नो फेसबुकमार्फत् एकअर्कासँगको प्रेमिल तश्बिर राख्दै प्रेम सम्बन्धको घोषणा गरेका थिए । लगत्तै उनीहरु हनिमुन मनाउन थाइल्याण्ड पनि उडेका थिए ।
निर्देशक दीवाकर निर्देशित फिल्म ‘क्याप्टेन’ अहिले दोस्रो सातामा प्रदर्शन भइरहेको छ । चाँडै दीपीका पनि श्रीमान् दीवाकरकै नयाँ फिल्ममा काम गर्दैछिन् ।