बर्दिया : पेटमा ५ महिनाको गर्भ थियो । स्वाद फेरेर भात खान मन लागेको बताउने गरेकी थिइन् । सधैं रोटीले छाक टार्ने गरेकी उनले भदौ १६ को साँझपख भात खाने इच्छा व्यक्त गरिन् । तर, भात पकाउने विषयमा सासू–बुहारीबीच एकमत बनेन । अन्ततः दुवैबीच मनमुटाव गहिरिँदै गएपछि गुलरिया नगरपालिका–३ खैरीकी २३ वर्षीया नीलम गोडियाले घरभित्रै झुन्डिएर आत्महत्या गरेको माइती पक्षको दाबी छ ।
गोडिया परिवार खेतीपाती र मजदुरीमा निर्भर छ । दैनिक काम गरेर छाक जुटाउने गरेका थिए । लकडाउनले लामो समय काम नपाएपछि घरमा पर्याप्त चामल थिएन । भदौ १६ को साँझपख नीलमले सासू लक्ष्मीसित भात पकाउने अनुमति मागिन् । तर चामल कम रहेको र परिवारका अन्य सदस्यले पनि रोटी खाने भनेपछि भात पकाउन अनुमति मिलेन । निलमका श्रीमान् ओमकारका अनुसार घरमा करिब १५ किलो चामल थियो । कहिलेकाहीं मात्रै भात खाने भन्दै उनीहरू दिनहुँ रोटीले गुजारा गरिरहेका थिए । आमाले बुहारीका लागि मात्र भात किन पकाउने भनेपछि त्यस दिन घरमा भात नपाकेको उनले बताए । ‘थोरै चामल लगेर पकाउँछु भनेकी थिइन्,’ उनले भने, ‘आमासँग अनुमति लिएकी हुन् ।’
त्यसपछि भात खानकै लागि नीलमले सापटीका रूपमा एक किलोजति चामल माइतीमा लगिन् । घरबाट ५० मिटरको दूरीमा छ उनको माइती घर । एक किलोभन्दा धेरै चामल लगेको भन्दै सासू र बुहारीबीच फेरि भनाभन भयो । त्यसपछि नीलमले लगत्तै आफ्ना बाबु रमेशसँग चामल मागेर सासूलाई फिर्ता गरिदिइन् । लक्ष्मीले भने बुहारीले चामल माइत लैजाने बेला आफू घरमा नरहेको र बुहारीसँग झगडा नभएको दाबी गरिन् । ‘बुहारीले के कारणले आत्महत्या गरिन्, बुझ्न सकिनँ,’ उनले भनिन् । रोटी खाने भनिए पनि त्यस दिन नीलमले आँगनमा मकै भुटेर सबैलाई बाँडिन् र घरभित्र पसिन् । धेरै बेरसम्म उनी बाहिर नआएपछि कोठाभित्र गएर हेर्दा झुन्डिएको अवस्थामा देखेको ओमकारले बताए । नीलमले आत्महत्या गर्दा कोठाका झ्यालढोका खुलै थिए । झ्यालढोका नलगाएकाले पनि आत्महत्या गरेको मेसो नपाएको परिवारको भनाइ छ ।
गोडिया परिवारको सम्पत्तिका नाममा दुई कठ्ठा जमिन र एउटा घर छ । उनीहरू अरूको खेत अधियाँ गरेर जीविका चलाउँदै आएका छन् । कोरोना संक्रमणका कारण मजदुरीसमेत नपाउँदा घरखर्च टार्न निकै समस्या थियो । ‘श्रीमतीलाई गर्भवती अवस्थामा भात खाने इच्छासमेत पूरा गर्न नसक्दा यस्तो विपत्ति आयो,’ ओमकारले भने, ‘कोरोनाले गर्दा यो सबै भएको हो ।’,याे समाचार कान्तिपुर दैनिकमा छापिएकाे छ ।