१५ जेठ, काठमाडौं ।
अर्थ मन्त्री विष्णुप्रसाद पौडेलले कोरोना महामारीको बीचमा पनि नेपालको अर्थतन्त्र राम्रो भएको दाबी गर्नुभएको छ । बजेट भाषण गर्दै अर्थ मन्त्री पौडेलले आर्थिक वृद्धिदरमा केहि समस्या रहे पनि अर्थतन्त्रका सूचक भने राम्रो रहेको दाबी गरे ।
मूल्यवृद्धि, सरकारी खर्च, वैदेशिक सहायता, पुँजीबजार लगायतका सूचक सकारात्मक रहेको पौडेलको भनाइ छ । निर्यात बढेको, वैदेशिक मुद्राको सञ्चिती राम्रो रहेको लगायतका विषय अर्थ मन्त्रीले बताए ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय बालुवाटारमा अर्थ मन्त्री विष्णु पौडेलले आउँदो आर्थिक वर्षका लागि बजेट भाषण गरिरहेका छन् । चौतर्फी विरोध भइरहे पनि सरकारले आज अध्यादेशमार्फत आउँदो आर्थिक वर्ष २०७८÷७९ को लागि बजेट सार्वजनिक गरिरहेको हो ।
संसद्का दुवै सदनमा बजेट पेस गर्नुपर्ने संवैधानिक व्यवस्था भए पनि सरकारले अध्यादेशमार्फत बजेट सार्वजनिक गर्न लागेको हो ।