१४ बैशाख, पर्वत । वनमा लाग्ने डढेलो नियन्त्रण र वन संरक्षणसँगै प्रवद्र्धनको मुख्य भूमिका स्थानीयवासीको हुन्छ तर पर्वतका अधिकांश वनजङ्गलमा मानवीय कारणले आगलागी भएको तथ्याङ्कले देखाएको छ ।
गत चैत २५ गते दक्षिण पर्वतको पैयुँ गाउँपालिका–६ सरौखोलाको डाँडाकाहुँमा आगलागी हुँदा पाँच घर र १५ गोठ जलेर नष्ट भए । जङ्गलमा लागेको आगो बस्तीमा प्रवेश गरेपछि घर र गोठ जलेर नष्ट भएका हुन् ।
डिभिजन कार्यालय पर्वतले आगलागीका अधिकांश घटना मानवीय कारण भएको निष्कर्ष निकालेको छ । कार्यालयले पैयुँमा मात्र होइन, जिल्लाका अधिकांश ठाउँमा मानवीय कारणले आगलागी भएको बताए पनि डढेलो लगाउनेलाई पहिचान गर्न मुस्किल हुने र प्रमाण जुटाउन समस्या हुने भएकाले कानूनी दायरामा ल्याउन गाह्रो भएको बताएको छ ।
वनजङ्गलमा आगो लगाउँदा कस्तो कानूनी कारवाही बेहोर्नुपर्छ भन्नेबारे नागरिकमा खासै जानकारी नहुँदा घटना मौलाउँदै गएको देखिन्छ । बस्ती आसपासमा नयाँ घाँस पलाउने आशले सुकेका पातपतिङ्गरमा लुकीछिपी आगो लगाउने गरिन्छ ।
जङ्गलमा डढेलो लगाउँदा चरिचरनका लागि नयाँ घाँस पलाउने भन्ने गलत मानसिकताका कारण वनजङ्गल सखाप हुने गरेको छ ।