विराटनगर,भदौ १८
विराटनगरमा सोमबार आयोजना हुने श्रीराधाकृष्ण रथयात्राको सुरक्षा अवस्थाको ड्रोन क्यामराबाट निगरानी गरिने भएको छ ।प्रहरी प्रधान कार्यालयबाट बोइलाइएको प्रहरीको टोलीले आइतबार ड्रोन क्यामराको परीक्षण उडान समेत गरेको छ ।
श्री राधाकृष्ण धर्मशाला परिसरमा प्रदेश प्रहरी प्रमुख डिआइजी केदार रिजाल र मोरङ प्रहरी प्रमुख एसपी मनोजकुमार केसीको उपस्थितिमा ड्रोनको परीक्षण उडान गरिएको छ । रथयात्राको क्रममा नगरक्षेत्रमा श्रद्धालु र दर्शनार्थीहरुको ठुलो भीडभाड हुने र सो क्रममा चोरी र पाकेटमारी लगायतका घटनाहरु समेत हुने गरेकाले यसपटक ड्रोन क्यामराबाट रथयात्राको निगारानी गरिने मोरङ प्रहरी प्रमुख एसपी केसीले बताए ।
एसपी केसीले यसपटक रथयात्रालाई सुरक्षितरुपमा सम्पन्न गर्न एकहजार बढी नेपाल प्रहरी परिचालन गरिने बताए । रथयात्राको क्रममा नेपाल प्रहरीका साथै सशस्त्र प्रहरी र नेपाली सेना समेत क्रममा खटिने रथयात्रा आयोजक समितिले जानकारी दिएको छ ।
यसपटक ड्रोन क्यामराबाट सुरक्षा निगरानी गरिने भएपछि रथयात्राको क्रममा हुने अवांछित गतिविधिमा कमी आउने अपेक्षा गरिएको छ । ड्रोन क्यामराबाट खिचिएका भिजुअलहरुलाई बिश्लेषण गरेर अवांछित गतिविधिमा संलग्नहरुको पहिचान गर्न सकिने भएकाले त्यस्ता गतिविधिमा कमी आउने अपेक्षा गरिएको छ ।