२५ भदौ, काठमाडौं । अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार जोन बोल्टनलाई राष्ट्रपति डोनाल्ड ट्रम्पले बर्खास्त गरेका छन् ।
इरान, अफगानिस्तान र अन्य विश्वव्यापी चुनौतीहरुका बारेमा मतभेद रहेपछि राष्ट्रपति ट्रम्पले बोल्टनलाई बर्खास्त गरेका हुन् ।
बोल्टनले ट्रम्पको परराष्ट्र नीतिप्रति असहमति जनाएका थिए । राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जाल ट्वीटरमार्फत जोनले राजीनामा गरेको ट्वीट गर्दै पुष्टि गरेका छन् ।
बोल्टनले सन् २०१८ को अप्रिलबाट ट्रम्प प्रशासनको सुरक्षा सल्लाहकारको भूमिका निर्वाह गरेका थिए । उनी माइक फ्लाइन र एचआर म्याकमास्टरपछि राष्ट्रपति ट्रम्पका तेस्रो सुरक्षा सल्लाहकार थिए ।
संयुक्त राष्ट्र संघको महासभा शुरु हुनु एक हप्ता अघि मात्र सुरक्षा सल्लाहकार बोल्टनको राजीनामा आएकाले विश्व मञ्चमा ट्रम्पले आफ्ठेरोका सामना गर्नुपर्ने हुन सक्ने अनुमान गरिएको छ ।
पछिल्ला दिनहरुमा बोल्टन र विदेश सचिव माइक पोम्पेओबीच राष्ट्रपति ट्रम्पको चाहना अनुसार विभिन्न देशका राष्ट्र प्रमुखहरुसँग कसरी वार्ता गराउने भन्ने बारेमा तनाव बढेको थियो ।
इरनी राष्ट्रपतिसँग गर्ने भनिएको वार्ताका लागि सहजिकरण नगरेको आरोपमा ट्रम्ले बोल्टनलाई बर्खास्त गरेको बताइएको छ । पछिल्लो समय बोल्टनलाई ह्वाइटहाउसका सूचना चुहावट गरेको पनि आरोप लागेको अन्तर्रा्ष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् ।