रोकिएको कर्णाली कोरिडोरको निर्माणको काम तीव्र गतिमा शुरु

२३ चैत ७७, मंगलबार

२४ चैत्र, रासस ।
राष्ट्रिय गौरवको आयोजनाअन्तर्गतको कर्णाली कोरिडोर निर्माण तीव्ररूपमा भइरहेको छ ।

केही महिनादेखि ब्लाष्टिङ सामग्रीको अभाव भएका कारण सडक निर्माणको ट्र्याक खोल्ने कार्य प्रभावित भएको थियो ।

चैतको पहिलो हप्ता नेपाली सेनाको सहयोगमा ब्लाष्टिङ सामग्री सिमिकोट ल्याइसकेपछि धेरै महिनादेखि रोकिएको निर्माण कार्य शुरु भएको सिमिकोट–हिल्सा सडक योजनाका प्रमुख विसुन दास लामाले बताए ।

Advertisement

सिमिकोट–हिल्सा सडक खण्डमा च्याछरा चट्टाने भिर तथा सडकमा रहेका विभिन्न चेनेजमा कडा चट्टानहरु फुटाउने कार्य तीव्र गतिमा भइरहेको छ ।

दुई महिनाभित्र यस खण्डको ‘ब्रेक थ्रु’ भई सिमिकोटदेखि चीनको नाका हिल्सासम्म ९५ किलोमिटर सडक मार्गबाट सजिलै यात्रा गर्न सकिनेछ ।

Advertisement

त्यसैगरी सिमिकोट सल्लिसल्ला खण्डमा रहेको सल्लिसल्लाको भिर ब्रेकर करिब एक महिना लगाएर फुटाइसकेको हुँदा हुम्लाको चङ्खेली गाउँपालिका हुँदै १२ किलोमिटर ट्र्याक सडक सर्केगाड गाउँपालिकाको दुल्लीकुनासम्मा खुलिसकेको र ट्र्याक्टरसमेत पुगिसकेको अवस्था रहेको सपना धुलिखेल जेभी काठमाडौँका आधिकारिक प्रतिनिधिले जानकारी दिए ।

अब दुल्लीकुनाको भीर फुटाउन कम्प्रेसर, जेनेरेटरलगायतका उपकरण सुर्खेतबाट ल्याउने तयारी भइरहेको र भिर फुटाउने कामसमेत चाँडै शुरु हुने उनले जानकारी दिए ।

खार्पुनाथ गाउँपालिकामा रहेको बोक्चेगौँडामा ४०० मिटरको भिरबाट अब एक्साभेटर मेसिन छिर्न सक्ने पि एस दि क्याराभान कङ्ग्री जेभीका स्थानीय प्रतिनिधि क्याछोक लामाले बताए।

योजना कार्यालय सिमिकोटबाट प्राप्त जानकारीअनुसार अब ट्र्याक खोल्न करिब १५ किलोमिटर मात्र बाँकी छ ।

विशेषगरी असाध्यै अप्ठ्यारो छारे भिर करिब एक किलोमिटर रहेकामा उक्त भिरको एलाइन्मेन्ट छलेर दुईवटा बेलिब्रिज पुल जडान गर्न सके र निर्माण व्यवसायीले निर्माण कार्यमा तदारुकता देखाए हुम्ला जिल्लाको सदरमुकाम जोड्ने कार्य अबको एक वर्षभित्र सकिने देखिन्छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top