१५ कात्तिक, विराटनगर।
प्रदेश सरकार, विराटनगर महानगरपालिका र नागरिक केयर सेन्टर विराटनगरको सहकार्यमा विराटनगरस्थित कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा थप एक सय बेडको आइसोलेसन वार्ड निर्माण सुरु गरिएको छ । नागरिक समाजको अगुवाइमा विराटनगरमा सुविधा सम्पन्न नागरिक केयर सेन्टर निर्माण सुरु गरिएको हो ।
यसैबीच विराटनगरमा निजी क्षेत्रको सक्रियतामा प्रदेश सरकार, विराटनगर महानगरपालिका र निजी क्षेत्रको साझेदारीमा कोशी कोभिड अस्पताल परिसरमा निर्माण भईरहेको आईसोलेसन केन्द्रको सामाजिक विकास मन्त्री जीवन घिमिरेले अनुगमन गरेका छन् । अनुगमनका क्रममा मन्त्री घिमिरेले कोरोना संक्रमणको अवस्था अनुसार प्रदेश सरकारले काम गरिरहेको बताए । कोरोना संक्रमणको मात्रा हेरेर प्रदेश सरकारले स्टेप चालिरहेको उनले बताए । मन्त्री घिमिरेले भने,‘ नेपालमा कोरोना संक्रमण देखापरे लगत्तै कोभिड अस्पताल निर्माण शुरु गरियो ।’
संक्रमित बढेसँगै कोभिड अस्पतालको क्षमता विकास र प्रदेशका विभिन्न स्थानमा आईसोलेसन केन्द्रहरु थप गर्दै लगिएको मन्त्री घिमिरेले बताए । निजी क्षेत्रसँगको साँझेदारीमा अक्सिजन सहितको १ सय वेड बाहेक प्रदेश सरकारले कोभिड अस्पताल परिसरमै रहेको भवनमा विशिष्टिकृत सेवा सहितको थप १ सय वेड निर्माणको काम भईरहेको जानकारी दिए । संघीय सरकार, प्रदेश सरकार र विराटनगर महानगरपालिकाको सहयोगमा विशिष्टिकृत सेवा सहितको १ सय वेड तयार गरिने उनले बताए ।
विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले निजी क्षेत्रबाट काम शुरु गर्दा छिटो हुने बताए । अक्सिजन सहितको वेड तत्काल आवस्यक भएकाले सरकारी प्रकृयामा ढिलो हुने भएकाले निजी क्षेत्रसँगको साँझेदारीमा काम शुरु गरिएको उनले बताए । उनले महानगर क्षेत्रमा संक्रमण बढ्दै गएकाले स्वास्थ्य सुरक्षा अपनाउन आग्रह गरे ।
नागरिक केयर सेन्टरका संयोजक उद्योगी पवन सारडाले तिहार अगावै अक्सिजन सहितको वेड सञ्चालनका लागि काम भईरहेको बताए । सरकारले थप वेडको आवस्यकता महसुस गरेको खण्डमा त्यसका लागि नागरिक केयर सेन्टर तयार रहेको उनले बताए ।