१२ असार, विराटनगर ।
विराटनगरस्थित कोशी अस्पतालमा विरामीको कुरूवा बसेकी किशोरीलाई बलात्कारको प्रयास गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । किशोरीको जाहेरीको आधारमा प्रहरीले मोरङको कटहरी गाउँपालिका ७ का २८ वर्षीय सुरज मण्डललाई बुधबार पक्राउ गरेको हो ।
बुधबार बिहान करिब साढे ३ बजेको समयमा कोशी अस्पतालको फिमेल मेडिकल वार्डको २०२ नम्बर बेडमा सुतेको अवस्थामा एक्कासी आएर चुम्बन गरेको र बलात्कारको प्रयास गरेको किशाेरीले आरोप लगाएकी छिन् । खोटाङ घर भएकी ती किशोरीले दिएको जाहेरीमा फिमेल मेडिकल वार्डमा सुतिरहेको अवस्थामा आफ्नो ओठमा मण्डलले चुम्बन गरेको र उनले प्रतिकार गरेपछि मण्डल फरार भएको उल्लेख छ ।
ती किशोरीले दिदीको छोरी विरामी भएपछि कोशी अस्पतालमा कुरुवा बसेको बताएकी छिन् । किशोरीले प्रतिकार गर्दा होहल्ला गरेपछि अस्पतालबाट फरार भएका मण्डललाई अस्पतालका कर्मचारीले पहिचान गरेका थिए । पक्राउ परेका मण्डल अस्पतालमा दैनिकजसो आवतजावत गर्दै आएको बुझिएको छ ।
पक्राउ परेका मण्डलमाथि थप अनुसन्धान भईरहेकोे मोरङ प्रहरीका प्रवक्ता डिएसपी मानबहादुर राईले जानकारी दिए ।