११ मंसिर, काठमाडाैँ ।
कोभिड—१९ संक्रमणको जोखिमकाबीच पनि चितवनको पवित्र धार्मिक तीर्थस्थल देवघाटमा हरिबोधिनी एकादशी मनाइएको छ ।
देवघाट विकास समितिले संक्रमणको जोखिम कायमै रहेकाले भक्तजनहरुलाई नआउन आग्रह गरेपनि विहानै देखि देवघाटमा भक्तजनहरुको घुँइचो थियो । समितिले विज्ञप्ती नै जारी गरेर हरिबोधिनी एकादशी, बालाचतुर्दशीलगायतका मेला पर्वमा नआउन आग्रह गरेको थियो । तर स्थानीय भक्तजनहरु हरिबोधिनी एकादशी मनाउन देवघाट नै पुगेका थिए ।
बिहानदेखि देवघाटधाममा स्नान गर्न आउने भक्तजनको भीड लागेको थियो । बाँसको लिङ्गो गाडेर तोरन टाँगेपछि देवघाटमा मेला सुरु हुने गर्दछ । हरिबोधिनी एकादशी, भगवान विष्णुको पूजा, आराधना, भजनकीर्तन र व्रत बसी मनाइने पर्व हो ।
व्रतालुले बिहीबार अपिँडालु, सक्खरखण्ड, बदामलगायत जमीनमुनि फलेका खाने कुरा खाने गर्दछन् । हरिबोधिनी एकादशीका दिन तुलसीको विवाह गर्ने चलन पनि छ । असार शुक्ल एकादशीमा रोपेको तुलसी रुपी लक्ष्मीको विवाह नारायणसँग भएकाले यस दिनलाई तुलसी विवाहका रुपमा पनि लिने गरिएको छ ।
देवघाटधाममा औँशी, पूर्णिमा, एकादशी, माघे संक्रान्ति, बालाचर्तुदशी, शिवरात्रि, साउने संक्रान्तिलगायतका पवित्र दिनमा स्नान गर्न ठूलो संख्यामा भक्तजन आउने गर्दछन् ।