३२ जेठ, नयाँदिल्ली ।
नेपाल सरकारले लिम्पियाधुरासम्मको भूभागलाई समावेश गरेको नयाँ नक्सा निसान छापमा समेट्न शनिबार गरेको संविधान संशोधनप्रति भारतले असहमति जनाएको छ ।
प्रतिनिधिसभाबाट सर्वसम्मतिले संविधान संशोधन भएको केही बेरमै भारतीय विदेश मन्त्रालयले विज्ञप्ति जारी गर्दै नेपालले संविधान संशोधन गर्दै सीमा विवादलाई वार्ताबाट हल गर्ने समझदारीको उल्लघंन गरेको प्रतिक्रिया दिएको हो ।
विदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवद्वारा जारी विज्ञप्तिमा भनिएको छ – ‘नेपालको ससंदले भारतको भूभाग समावेश गरिएको नयाँ नक्साका लागि संविधान संशोधन विधेयक पारित भएको घटनालाई हामीले चासोका साथ हेरेका छौं र यसले दुवै देशबीच सीमासम्बन्धी विवादित मुद्दालाई वार्ताद्वारा सुल्झाउने समझदारीको उल्लघंन भएको छ ।’
त्यसैगरी कृत्रिम तरिकाले भूभागको विस्तार ऐतिहासिक तथ्य र प्रमाणमा आधारित नभएकाले उक्त नक्सा मान्य नभएको समेत भारतको भनाइ छ । श्रीवास्तवले भनेका छन्-‘ऐतिहासिक तथ्य र प्रमाणबिना कृत्रिम तरिकाले भूभागको विस्तार गर्नु मान्य छैन ।’
साथै सीमा विवादका सम्बन्धमा आफ्नो पुरानै अडानलाई कायम रहेको समेत भारतले दोहोऱ्याएको छ । भारतले नेपालसँगको सीमा विवादसम्बन्धमा छलफल गर्न गठित विदेशसचिवस्तरीय संयन्त्रको बैठक कोरोना महामारीपछि राख्न सकिने र त्यसका लागि नेपालका तर्फबाट सकारात्मक र रचनात्मक पहल हुनुपर्ने बताउँदै आएको छ ।
यता संविधान संशोधन पछि प्रतिक्रिया दिँदै प्रधानमन्त्री केपी शर्मा ओलीले सीमा विवादका विषयमा भारतसँग वार्ता अघि बढ्ने बताएका छन् ।