संविधान संशोधन विधेयकमाथि सांसद गिरीको संशोधन प्रस्ताव सभामुखद्वारा खारेज

0SHARES

३१ जेष्ठ २०७७ नेपाल टाईम्स

३१ जेष्ठ, काठमाडौं ।
संविधान संशोधन विधेयकमाथि समाजवादीकी सांसद सरिता गिरीले दर्ता गराएको संशोधन प्रस्ताव सभामुख अग्नि सापकोटाले खारेज गरिदिएका छन् ।

शनिबारको प्रतिनिधिसभा बैठकको कार्यसूची तयार पार्नु पहिला सभामुखले गिरीको संशोधन प्रस्ताव खारेज गरेको प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीले जानकारी दिए ।

प्रतिनिधिसभाको विधेयक शाखाबाट आएको टिप्पणीमा प्रतिनिधिसभा सचिव गोपालनाथ योगी र महासचिव भरतराज गौतमको राय हेरेपछि सभामुखले उक्त निर्णय लिएका हुन् ।

गिरीको संशोधन प्रतिनिधिसभा नियमावली, २०७५ को नियम ११२ मा रहेका संशोधनका शर्त विपरीत रहेको टिप्पणी विधेयक शाखाबाट गएको थियो । सांसद गिरीको संशोधन प्रस्ताव नियमावली विपरीत भएकाले सभामुखले खारेज गर्नसक्ने कानूनविद्ले बताएका थिए ।

विगतमा पनि यसरी आएका संशोधन प्रस्ताव सभामुखबाट खारेज हुने गरेका विधेयक शाखा प्रमुख उपसचिव नारायणप्रसाद ढकालले बताए । प्रतिनिधिसभाको आजको बैठकको कार्यसूचीमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री शिवमाया तुम्बाहाङ्फेले नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, २०७७ माथिको दफावार छलफल सदनमा गरियोस् भनेर प्रस्ताव गर्ने उल्लेख छ ।

उक्त प्रस्तावअनुसार छलफल भएपछि उनले नै संविधान संशोधन विधेयक पारित गरियोस् भनेर प्रस्ताव प्रस्तुत गर्नेछिन् । त्यसपछि मतदान हुनेछ । समाजवादीले सरकारले प्रस्तुत गर्ने विधेयकको पक्षमा मतदान गर्न आफ्ना सांसदहरुलाई ह्वीप जारी गरेको छ ।

विज्ञापन बक्स