काठमाडौं, फागुन १५
सत्तारुढ दल नेकपा एमालेका वरिष्ठ नेता एवम् पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले सरकारले मानव संशाधनको विकासलाई उच्च प्राथमिकता दिने बताएका छन् ।
वरिष्ठ नेता नेपालले मुलुक विकासको लागि शिक्षा, स्वास्थ्य र यातायात क्षेत्रको विकासमा विशेष जोड दिनुपर्ने आवश्यक्ता पनि औंल्याए । आज स्वतन्त्र विद्यार्थी युनियन आरआर क्याम्पसद्धारा काठमाडौंमा आयोजित बृहत रचनात्मक कार्यक्रम समापन समारोहलाई सम्बोधन गर्दै उनले शिक्षा, स्वास्थ्य र यातायात जस्ता पूर्वाधारको विकासबाट मात्रै मुलुकको समग्र क्षेत्रको विकास हुने पनि स्पष्ट पारे ।
वरिष्ठ नेता नेपालले मुलुकमा हत्या, हिंसा सदाका लागि अन्त्य भएको दावी समेत गरे । उनले मुलुक शान्तिको नयाँ युगमा प्रवेश गरेको उल्लेख गर्दै इमान्दार र निष्ठाका साथ देशको सेवामा समर्पित हुनुपर्ने आवश्यक्ता पनि औंल्याए । कार्यक्रममा आरआर क्याम्पसका उत्कृष्ट खेलाडीहरुलाई सम्मान पनि गरिएको थियो ।