१३ चैत, काठमाडौँ ।
सरकारले कोरोना भाईरसबाट संक्रमितको उपचार, आपूर्ति र शान्ति सुरक्षामा केन्द्रीत भएर कामगरिरहेको स्पष्ट पारेको छ । उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोख्रेलले विहिबार संचारकर्मीसंग कुरा गर्दे संक्रमितको उपचार पहिलो प्राथमिकता भएकाले सोही अनुसार सरकारले काम गरिरहेको स्पष्ट पारेका हुन ।
कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिका संयोजक समेत रहेका उपप्रधानमन्त्री पोख्रेलले आपूर्ति व्यवस्थापन सहज बनाउनुको साथै शान्ति सुरक्षा प्रदान गर्ने विषयमा सरकार गम्भीर रुपमा लागेको बताए । संक्रमितको उपचार, विरामीलाई राख्ने आईसोलेसन लगायत कामकालागि आवश्यक मेडिकल सामाग्री अभाव भएकाले तत्काल उपचार प्रभावकारी ढंगल गर्न नसकिए पनि सरकारले छिट्टै सामान आपूर्ति गर्ने विश्वास दिलाए ।
उनले स्वास्थ्यकर्मीका लागि अत्यावश्यक व्यक्तिगत सुरक्षा सामाग्री पिपिई, परीक्षण किट लगायतका स्वास्थ्य आयातमा देखिएका प्रक्रियागत जटिलताको अन्त्यगर्दै सरकारले छिट्टै सामान ल्याउने बताए ।उनले बन्दाबन्दीको अवस्थामा दैनिक उपभोग्य सामान , औषधी, खाद्यान्न, तरकारी, दुधलगायत अत्यावश्यक सामाग्रीका पसलहरु खुल्ला हुने स्पष्ट पारे । उनले विभिन्न पेशा संग सम्बन्धीत दैनिक ज्यालादारी कर्मचारीलाई विदा मिलाई काम नगुम्ने अवस्थाको प्रत्याभुति गर्न ती संस्था, व्यक्ति र फर्महरुसंग सरकारले समन्वय गरिहेकाले कसैले पनि काम गुमाउने अवस्था नरहने दाबी गरे ।
उनले मुलुककै राष्ट्रिय संकट भएको र सरकार वा पार्टीका लागि मात्रै नभएर आम नागरिककै संकट भएकाले सबैलाई सहयोग गर्न आग्रह गरे । उनले नेपालमा बस्ने विदेशी नागरिकको रक्षा नेपाल सरकारले गर्ने भएकाले विदेशमा बसेका नेपालीहरुको पनि सम्बन्धीत देशका सरकारले रक्षागर्ने भएकाले मुलुकबाहिर बसेका नेपालीहरुको बारे थप गम्भीर बन्नुपर्ने अवस्था नभएको स्पष्ट पारे ।