१६ असार, काठमाडौं । गएको शनिबार भारतबाट नेपाल प्रवेश गरेको सलह किरा काठमाडौ उपत्यका पनि प्रवेश गरेको छ ।
काठमाडौंमा प्रवेश गरेको सलह किरा उपत्यकाका तीन वटै जिल्लामा पुगेको सलहको विश्लेषण गरिरहेको प्राविधिक कार्यदलका संयोजक सहदेव हुमागाईँले जानकारी दिएका छन् ।
बाराबाट नेपाल प्रवेश गरेको सलह मकवानपुर हुँदै काठमाण्डौ पुगेको हुमागाईँले बताए । उनका अनुसार नेपाल पसेको सलहको समूह विभिन्न साना समूहमा छुट्टिएर २५ भन्दा धेरै जिल्लामा पुगिसकेको छ । बाराबाट नेपाल छिरेको सलहसँगै रुपन्देहीमा हिजो अर्को समूह पनि आएको थियो ।
सलह किराले दोलखा, स्याङ्जालगायतका जिल्लामा मकै तथा तरकारीलगायतका बालीमा क्षति पु¥याएको किसानहरुले बताएका छन् ।
यसैबीच प्युठानको झिम्रुक गाउँपालिकामा स्थानीयले झ्याली बाजा बजाएर सलह किरा लखेटेका छन् । अर्को गाउँबाट सलह आउँदै गरेको थाहा पाएपछि झिम्रुक गाउँपालिका २ मुलपानीमा गाउँलेहरु भेला भएर बाजा तथा आवाज आउने वस्तु बजाएर तथा आगो बालेर सलहलाई बस्न नदिइकन भगाएको स्थानीयले बताएका छन् ।
विभिन्न जिल्लामा छरिएको सलह किराको समूहमा कतै केही हजार र कतै लाखौँको सङ्ख्यामा रहेको प्लान्ट क्वरेण्टीन तथा विषादी व्यवस्थापन केन्द्रले जनाएको छ । विषादी प्रयोग गरेर र किसानहरुले धुँवा आउने वस्तु बालेर, ड्रम बजाएर यसलाई भगाउन सक्ने केन्द्रले जनाएको छ । सलह किरालाई बिहानको समयमा विषादी प्रयोग गरी नष्ट गर्न सकिने विज्ञहरुको भनाइ छ ।
साँझ एक ठाउँमा गएर बस्ने र बिहान ८÷९ बजेपछि मात्रै बाली खान खेतमा पस्ने भएकोले बिहान ५÷६ बजेको समयमा विषादी प्रयोग गरी नियन्त्रणमा लिन सकिने अवस्था रहेको विज्ञहरुले बताएका छन् ।