झापा, भदा ९
झापाको भद्रपुर नगर क्षेत्रका मारवाडी समुदायका महिलाहरुले सशस्त्र प्रहरी र नेपाल प्रहरीका कर्मचारीहरुलाई राँखी बाँधेका छन् । हिन्दु धर्मावलम्बीहरुले भोलि आइतबार मनाउने रक्षाबन्धन एवम जनैपूर्णिमाको अवसरमा भद्रपुर मारवाडी महिला मञ्च तथा मारवाडी युवती मञ्चमा आवद्ध महिलाहरुले सशस्त्र प्रहरी र नेपाल प्रहरीका कर्मचारीहरुलाई राँखी बाँधीदिएका हुन् ।
सशस्त्र प्रहरी बल हेकुवा गण परिसरमा शनिबार आयोजित रक्षाबन्धन कार्यक्रममा सशस्त्र प्रहरी उपरीक्षक रेशमकुमार थक्सुलाई मारवाडी महिलाहरुले संयुक्त रुपमा राखी बाँधेर कार्यक्रमको उद्घाटन गरिएको थियो । सशस्त्र प्रहरी उपरीक्षक थक्सुलाई भद्रपुर नगरपालिका उपप्रमुख चन्द्रमाया श्रेष्ठले समेत राँखी लगाइदिएकी छिन् ।
त्यस्तै सशस्त्र प्रहरीमा कार्यरत विभिन्न दर्जाका प्रहरी कर्मचारीलाई पनि सामूहिक रुपमा महिलाहरुले राखी लगाइदिएका छन् । त्यसैगरी वडा प्रहरी कार्यालय भद्रपुरका प्रहरी निरीक्षक प्रकाश जवेगूसहित प्रहरी जवानहरुलाई पनि महिलाहरुले राँखी लगाई दिएका छन् ।