२८ जेठ, काठमाडौँ ।
समाजवादी पार्टीकी सांसद सरिता गिरीले सरकारले प्रस्ततु गरेको संविधान संशोधन विधेयकको दफा २ खारेज गर्न संशोधन प्रस्ताव दर्ता गराएकी छन् । गिरीले बुधबार संघीय संसद सचिवालयमा नेपालको संविधान (दोस्रो संशोधन)विधेयक, २०७७ माथि संशोधन प्रस्ताव दर्ता गराएकी हुन् ।
प्रतिनिधिसभा विधेयक शाखाका प्रमुख नारायण ढकालका अनुसार गिरीले बुधबार दिउँसो उक्त संशोधन प्रस्ताव दर्ता गराएकी हुन् । उनको संशोधन प्रस्तावमा नेपालको संविधानको अनुसूची ३ मा रहेको निसान छाप संशोधन गरेर नेपालको अद्याविधक नक्साअनुसारको नक्सा राख्ने बुँदा हटाउनुपर्ने माग छ ।
समाजवादी पार्टीले भने उक्त संशोधन प्रस्ताव फिर्ता लिन निर्देशन दिँदै फिर्ता नलिएमा कारबाही गर्ने चेतावनी दिएको छ । पार्टीमा सल्लाह नगरी, संसदीय दलको निर्देशन बिना संशोधन हालेको भन्दै उनको पार्टी समाजवादीले सांसद गिरीलाई उक्त संशोधन प्रस्ताव फिर्ता लिन निर्देशन दिएको छ । गिरी समानुपातिक सांसद हुन् । उनले पछिल्लो समय सीमाको विषयलाई लिएर विवादित बयान दिँदै आएकी छन् ।