योगेन्द्र योगी
१२ भदौ, दोहा ।
साउदीमा १२० जना अवैधानिक नेपालीले वहिर्गमन भिसा पाएका छन् । वहिर्गमन भिसाको लागि गएको पुस, माघ, फागुन र अन्य समयमा निवेदन दिएकामध्ये थप १२० जनाको भिसा जारी भएको साउदीस्थित नेपाली दूतावासले जनाएको छ ।
दूतावासका अनुसार साउदीको विभिन्न कम्पनी तथा प्रतिष्ठानहरुमा काम गर्दा साउदी आवासीय अनुमतिपत्र (अकामा) नबनाईएका वा नवीकरण नगरिएका कारण नेपालीहरू अवैधानिक हैसियतमा रहेका थिए ।
अवैधानिक नेपालीहरूलाई स्वदेश फर्काउन आवश्यक पर्ने वहिर्गमन भिसा सहज र शीघ्ररुपमा प्रदान गर्ने व्यवस्थाका लागि दूतावासले साउदी सरकारलाई अनुरोध गरेको र अनुरोधपछि साउदी सरकारले वहिर्गमन भिसा प्रदान गर्ने प्रकृया सुरू गरेको दूतावासले जनाएको छ ।
वहिर्गमन भिसाका लागि विभिन्न समयमा सम्बन्धित नेपालीहरुबाट संकलन गरेका विवरण दूतावासले केही समय अगाडि साउदी सरकारलाई उपलव्ध गराएको थियो । तर, कोरोना संक्रमणका कारण अवरूद्ध थियो ।
दूतावासका अनुसार यो प्रकृया थालनी भएपछि यसअघि नै ६१८ जना नेपालीले यस्तो भिसा प्राप्त गरिसकेका छन् । वहिर्गमन भिसा जारी भएकाहरुलाई आगामी चरणमा नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सको साउदी अरबको रियाद र दमामबाट हुने उडानहरुबाट नेपाल जाने तयारी गर्न समेत दूतावासले अनुरोध छ।