विराटनगर,असार ४
विराटनगरका उदाउँदा युवाहरु मोडल साजिद आलम, क्रिकेटर सिद्धान्त लोहनी र ललित राजवंशीलाई राईजिङ स्टार अफ विराटनगर अवार्डबाट सम्मान गरिएको छ ।
आईतबार लियो क्लब अफ विराटनगर युनिकले लिडरसिप कार्यक्रमको अबसर पारेर उनीहरुलाई राईजिङ स्टार अफ विराटनगर अवार्डबाट सम्मान गरेको हो । उनीहरूलार्इ कार्यक्रमका प्रमुख अतिथी एवम् विराटनगर महानगरपालिकाका मेयर भिम पराजुलीले अवार्ड प्रदान गरे ।
साजिद आलम सन् २०१७ मा सम्पन्न म्यान हन्ट इन्टरनेशनलमा सेकेन्ड रनरअप भएका थिए भने भर्खरै म्यानमारमा सम्पन्न मिस्टर इन्टरनेशनलमा नेपालको प्रतिनिधित्व गर्दै सहभागिता जनाइका थिए । उनी मोडलिङको क्षेत्रमा निकै अब्बल मानिन्छन् भने मोडलिङको विभिन्न प्रतियोगितामा कोरियोग्राफि पनि गरेका छन् ।
त्यस्तै क्रिकेटर सिद्धान्त लोहनी नेपाली राष्ट्रिय त्रिकेट टिमबाट २०१५ मा आइसिसि ट्वान्टी ट्वान्टी वल्र्डकप क्वालिफायरमा खेलेका थिए ।उक्त प्रतियोगितामा उनले २ चौका र २ छक्काको मद्धतले २७ रन जोडेका थिए,उनले त्यहाँ प्रहार गरेकाे हेलिकप्टर सट आईसिसिले उत्कृष्ट मानेको छ ।उनले घरेलु प्रयिोगितामा निकै राम्रो प्रदर्शन गरिरहेका छन् ।
अर्का क्रिकेटर ललित राजवंशीले आइसिसी १९ वर्षमूनिको विश्वकप छनौटका क्रममा नेपाललाई पहिलोपटक उपाधि दिलाउने क्रममा उनले फाइनलमा आयरल्याण्डविरुद्ध १० ओभरमा १ मेडन राख्दै ३६ रनमा ४ विकेट लिएका थिए । उनले राष्ट्रिय टिमबाट पनि उत्कृष्ट प्रदर्शन गरेका छन् ।
कार्यक्रममा कप्तान पारस खड्का र राजनितिज्ञ हाजि अहम्मदलाई लियो युनिक लाईफ टाईम एचिभ्मेन्ट अवार्ड प्रदान गरिएको थियो भने विराटनगरका उदयीमान युवाहरुलाई प्रशंसा पत्र वितरण गरिएको थियो ।