१६ असार, काठमाडौँ ।
सरकारले हाल कायम लक लकडाउनलाई साउन ७ गतेसम्म जारी राख्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्ले सो निर्णय गरेको हो ।
भूमि व्यवस्था तथा सहकारीमन्त्री पद्मा अर्यालले सरकारले जारी मोडलमा नै खुकुलो बन्दाबन्दी जारी राख्ने र अहिलेलाई आन्तरिक तथा बाह्य कुनै उडान खुलाउने विषयमा कुनै निर्णय नभएको बताईन् । साथै अन्तर्राष्ट्रिय सीमा नाकाहरू पनि अहिलेकै अवस्थामा रहने उनले बताइन् ।
यो निर्णयअनुसार साउन ७ सम्म सार्वजनिक सवारी साधन चल्ने छैनन् निजी सवारीसाधन जोर विजोर प्रणालीमा चल्नेछन् । उद्दार बाहेकका सबै हवाई उडान बन्द हुनेछन् । विद्यालय तथा शैक्षिक संस्थाहरू पनि बन्द नै रहनेछन् ।
सभा समारोह, प्रदर्शन गर्न पाइने छैन भने सिनेमा हल, डान्सबार, पुस्तकालय, संग्रहालय, समूहमा खेलिने खेल, स्वीमिङ पुलहरू पनि खुला हुने छैनन् । सरकारले तोकेका २० बाहेक अरू अन्तर्राष्ट्रिय सीमा नाका पनि बन्द नै रहनेछ ।