७ मंसिर, काठमाडौं । यसपालि हिउँदका लागि २ सय ५० मेगावाटसम्मको बिजुली आयातको लागि भारतले स्वीकृति दिएको छ ।
२ सय ५० मेगावटमध्ये केही (८० देखि १५० मेगावाट) २४ घण्टा लिनुपर्ने खालको र बाँकी बिजुली आवश्यक पर्दा मात्र लिए हुने अवस्था रहेको पनि नेपाल विद्युत प्राधिकरणले जानकारी दिएको छ ।
‘यो स्वीकृति जुन २०२१ सम्मलाई हो,’ प्राधिकरण स्रोतले भन्यो, ‘त्यो समयसम्म नेपालको आफनै बिजुली अधिक हुने हुँदा निर्यातको लागि वार्ता भइरहेको छ ।’
गत हप्ता मात्रै ढल्केवर मुजफ्फरपुर लाइन ४ सय केभीमा चार्ज भइ भारतबाट ४ सय केभीमा पहिलो पटक बिजुली प्रवाह भएको थियो । यसबाट बिजुलीको प्रवाहको लागि राजमार्ग तयार भएको छ । जसबाट आगामी बर्खामा ५ सयदेखि ६ सय मेगावाटसम्म निर्यातको बाटो खुलेको छ ।
यसैगरी नेपाल विद्युत प्राधिकरणले २०७३ सालमा ढल्केबर–खिम्ती लाइन जोडिएदेखि नै जोड्न बाँकी रहेको काठमाडौंदेखि ढल्केबरसम्मको बिजुलीको प्रसारण लुप (सर्कल) जोडेको छ ।
नेपाल विद्युत प्राधिकरणमा कायममुकायम कार्यकारी निर्देशकको जिम्मेवारी भर्खरै सम्हाल्नु भएका हितेन्द्रदेव शाक्यले अब उक्त समस्या समाधान भई आइतबार दिउँसोबाट सो लुप चालु रहेको जानकारी दिए । उनले दक्ष इन्जिनियरहरुसँग छलफल गर्दा सहजै समस्या समाधान हुन्छ भन्ने यो एउटा सफल उदाहरण भएको जानकारी दिए । यसको प्रत्यक्ष फाइदा जाडो याममा देखिने उनले बताए।
अब एउटै लुप भएपछि जहाँ जति अपुग भयो त्यँही लुपबाट प्रशासरण हुने र मेक बिफोर ब्रेक गरिंदा विद्यूत काट्नु पर्ने बाध्यता नहुने शाक्यको विश्वास छ ।
शाक्यले त्यहाँको समाधानपछि भारत र नेपालमा लाइन स्विचिङ गर्दा लाइन काट्नु–जोड्नुपर्ने बाध्यता पनि अब हट्ने दाबी गरे ।