११ मंसिर, काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुदको औपचारिक उद्घाटन मंसिर १५ मा हुँदैछ । तर साग अन्तर्गत हुने भलिबल प्रतियोगिता भने मंसिर ११ गतेदेखि अर्थात आजबाट सुरु हुँदैछ ।
बुधबारदेखि त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा हुने पुरूष तथा महिला भलिबल प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भइसकेको आयोजक समितिले जनाएको छ । भारतबाहेकका प्रतियोगी देशका टिमहरू नेपाल आइसकेका छन् । भारतले महिला तथा पुरूष भलिबलमा सहभागिता जनाउने विषय अझै टुंगो लाग्न बाँकी छ । नेपालले आफ्नो समूहको पहिलो खेलमा बुधबार बंगलादेशसँग खेल्दैछ ।
दुई साताअघि बंगलादेशमा भएको एभीसी सिनियर सेन्ट्रल जोन वुमन्स भलिबल च्याम्पियनसिपमा गोल्ड मेडल जितेको नेपाली महिला भलिबल टिमले त्यसको खुसी मनाउन नपाउँदै घरेलु कोर्टमा १३ औं साग खेल्न लागेको हो ।
महिला टोलीलाई सेन्ट्रल जोनको उपलब्धिलाई जोगाउनु पनि छ । त्यसैले घरेलु कोर्टमा खेल्दा उत्साह र दबाव दुवै रहेको महिला टिमका कप्तान अरुणा शाहीले बताइन् ।घरेलु मैदानमा हुने खेलमा दर्शकको सकरात्मक तथा नकरात्मक दुवै खालको समर्थन प्राप्त हुने विश्वास शाहीको छ ।
१३ औं सागकै तयारीस्वरूप नेपालले करिब ३ साता थाइल्याण्डको बैंककस्थित फिभ भलिबल डेपलपमेन्ट सेन्ट्रमा ट्रेनिङ गर्नुका साथै मैत्रीपूर्ण खेल खेलेको थियो । त्यसपछि बंगलादेशमा सेन्ट्रल जोन खेलेको पनि खेलाडीमा एक्पोजर मिलेको अरुणाको भनाइ छ । अरुणाले घरेलु मैदानमा उत्कृष्ट प्रदर्शन गर्दै गोल्डे मेडल जित्ने लक्ष्य रहेको बताइन् ।