बर्दिवास, भदौ २३
महोत्तरी जिल्लाको भङ्गाहा नगरपालिका–६ जमुनियाँमा शुक्रबार राति डकैती भएको छ ।जमुनियाँका अर्जुन भुजेलको घरमा शुक्रबार मध्यरातको समयमा २०/२२ जनाको समूहमा पुगेका डाँकाले बन्दूक र खुकुरी चलाएर पाँच जनालाई घाइते बनाएर रु १० लाखभन्दा बढी मूल्यको धनमाल लुटेर लगेका पीडित परिवारले बताएका छन् ।
मध्यरातको समयमा डाँकाले घरधनी अर्जुन भुजेल सुतेका कोठा धम्क्याएर खोल्न लगाएलगत्तै बन्दुक चलाएका थिए ।
डाँका भित्र पसेपछि डाँकालाई छलेर भाग्ने क्रममा अर्जुनको गाला र अनुहारमा डाँकाले चलाएको बन्दुकको छर्रा लागेको जनाईएको छ ।
कालो नकाव लगाएका डाँकाले अर्जुनकी पत्नी अञ्जुदेवी, छोराहरु दीपेन्द्र र अमित एवं साला सुमित बुढाथोकीलाई शरीरका विभिन्न अङ्गमा खुकुरी चलाएर घाइते बनाएका छन् ।डाँकाहरुले बन्दुक चलाएर सानो बस्तीलाई शसंकीत बनाएका थिए ।
घरका परिवारजन भाग्न थालेसँगै घरमा रहेका सुनचाँदीका गहना, धातुका भाँडा र नगदसहित रु १० लाख मूल्य बराबरको धनमाल लुटेर डाँका फरार भएका थिए । सो घटनाको जिल्ला प्रहरी कार्यालय महोत्तरीले पुष्टि गरेको छ ।
घाइते पाँचै जनाको अहिले बर्दिवास–१४ स्थित शुभस्वस्तिक अस्पतालमा उपचार भइरहेको छ । घटनालगत्तै शङ्कास्पद ठाउँमा डाँकाको खोजीमा प्रहरी परिचालित गरिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक ईश्वर कार्कीले जानकारी दिए ।