३० असाेज, बैतडी ।
सुदूरपश्चिमकै दोस्रो ठूलो विमानस्थल बैतडीको पाटन विमानस्थलबाट २५ वर्षपछि हवाई उडान सुरु भएको छ । प्रदेशको अस्थायी राजधानी धनगढीलाई बेस बनाएर शुक्रबारदेखि हवाई उडान सुरु भएको हो ।
विसं २०५२ सालदेखि बन्द रहेकोे विमानस्थलमा अबदेखि नियमित उडान हुने धनगढी विमानस्थलका प्रमुख तेजबहादुर बुढथापाले जानकारी दिए । समिट एअरले हप्ताको एकदिन उडान भर्ने गरी नियमित रुपमा धनगढी–बैतडी–धनगढी सेवा दिने भएको हो ।
उनका अनुसार पहिलो दिन धनगढीबाट १८ यात्रु बैतडी र बैतडीबाट ७ यात्रु लिएर धनगढी फर्केको छ । पहिलो दिन शुक्रबार हवाई उडान गरिएको भए पनि अबदेखि बैतडीमा हप्तामा एक दिन मङ्गलबार नियमित उडान हुने समिट एअरका सुदूरपश्चिम म्यानेजर सरोज उप्रेतीले जानकारी दिए ।
धनगढीबाट हरेक मङ्गलबार बिहान १० बजे बैतडीका लागि विमान उड्ने उनले बताए। धनगढीबाट बैतडीको भाडा तीन हजार आठ सय रुपैयाँ तोकिएको छ ।
विसं २०५२ देखि पूर्णरुपमा बन्द रहेको सुदूरपश्चिमकै दोस्रो ठूलो बैतडीको पाटनमा रहेको विमानस्थल फेरि सञ्चालनमा आएपछि उत्साह थपिको स्थानीय कृष्ण पन्तले बताए ।
ग्याल्वा च्यामलिंगा जगदम्बा जेभीले ११ करोडमा विमानस्थल कालोपत्रको काम गत माघमा सम्पन्न गरेको थियो । पाटनमा विमानस्थलमा ५९० मिटर लम्बाई र २० मिटर चौडाइको धावन मार्ग कालोपत्रे गरिएको थियो भने ७० मिटर लम्बाई र ३० मिटर चौडाईको एप्रोन कालोपत्रे गरिएको हो ।
यही असोज १७ गते पाटन विमानस्थलमा परीक्षण उडान गरिएको थियो । परीक्षण उडानसँगै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईसहितको टोलीले पाटन विमानस्थलको निरीक्षणसमेत गरेको थियो ।
पाटनमा २०३२ सालमा विमानस्थल निर्माणको काम सुरु भएर २०३५ सालदेखि हवाई सेवा सुरु भएको थियो । पहाडी जिल्लामा सडक सञ्जाल पुगेको र यात्रु कम भएको भन्दै २०५२ सालदेखि विमानस्थल बन्द भएको थियो । २०५८ सालमा तत्कालीन विद्रोही माओवादीले विमानस्थलको टावरमा आगो लगाएर ध्वस्त बनाएको थियो ।