सात महिनापछि पुनः सञ्चालनमा आयो पोखरा क्यानोनिङ

२५ असोज ७७, सोमबार

२६ असाेज, कास्की ।

कोभिड– १९ का कारण बन्द रहेको कास्कीको माछापुच्छ्रे गाउँपालिका–९ स्थित पोखरा क्यानोनिङ सात महिनापछि पुनःसञ्चालनमा आएको छ । कोरोना महामारीको जोखिम उच्च रहे पनि स्वास्थ्य सतर्कताको मापदण्डलाई पूर्णरुपमा पालना गरेर सञ्चालन गर्न लागेको सञ्चालक राम गुरुङले जानकारी दिए ।

“अब कोरोनासँग सधैँ त्रासमा रहेर भन्दा पनि यसबाट जोगिएर कसरी अगाडि बढ्ने भन्ने सोच्नुपर्छ, सुस्ताएको पर्यटनलाई अब विस्तारै गति दिएर आर्थिक चलायमान गराउनुको विकल्प छैन, त्यसैले स्वास्थ्य सुरक्षाको मापदण्ड पूरा गरेर क्यानोनिङ खुला गरिएको हो” गुरुङले भने ।

Advertisement

उनले लामो समय एउटै दिनचर्यामा भएका आन्तरिक पर्यटक जो साहसिक खेलमा रुचि राख्छन् उनीहरुको चाहानालाई मध्यनजर गरेर क्यानोनिङ खुला गरेको जानकारी दिए । क्यानोनिङका लागि आवश्यक उपकरण र स्वास्थ्य सामग्री मास्क स्यानीटाइजरको प्रबन्ध गरेर पूर्ण सुरक्षित वातावरणमा क्यानोनिङ गराइने उनको भनाइ छ ।

पोखरामा क्यानोनिङ सन् २०१४ बाट सञ्चालनमा आएको हो । पोखराको हरिचोकबाट करिब २२ किलोमिटरको दूरीमा रहेको ल्वाङघलेल गाउँको मुनि कुदी छहरामा क्यानोनिङका लागि दुईवटा ७५ र ४५ मिटर अग्ला सुन्दर झरना छन् । साहसिक खेलमा रुचि राख्ने जो शारीरिक र मानसिक रुपमा तयार छन् । उनीहरुलाई ‘बिगनर’ र ‘प्रोफेशनल’ गरेर छुट्याइन्छ र झरनामा पानीमा मस्त रमाउन वातावरण तयार गरिन्छ ।

Advertisement

पहिलो पटक गर्न चाहानेका लागि प्रारम्भिक रुपमा डेमो देखाउने, सिकाउने प्रबन्धसमेत गरिएको छ । त्यसका लागि सात जना गाइड तैनाथ अवस्थामा रहन्छन् । गुरुङका अनुसार कोभिड–१९ अघि वार्षिक तीन हजार जनाले क्यानोनिङको अनुभव लिने गरेका छन् ।

क्यानोनिङका लागि तीन तहका प्याकेज छन्, क्यानोनिङ मात्र, ‘डे ट्रिप’ र ‘ओभर नाइट ट्रिप’ गरेर रु दुई हजार ४०० देखि रु चार हजार ९०० सम्म शुल्क तोकिएको छ । गण्डकी प्रदेश सरकारले प्रदेशअन्तर्गत रहेका ११ जिल्लाका विभिन्न पर्यटकीय गन्तव्यलाई समेटेर ११० नयाँ पर्यटकीयस्थल सार्वजनिक गरेको छ भने साहासिक पर्यटकीय गन्तव्यलाई समेत सूचीकृत गरेको छ । रासस

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top