महाकालीमा सुख्खा बन्दरगाह क्षेत्रको औपचारिक घोषणा

१५ कात्तिक ७७, आइतबार

१६ कात्तिक, कञ्चनपुर ।

Advertisement

कञ्चनपुरको महाकाली नगरपालिकामा स्थापना हुने सुख्खा बन्दरगाह क्षेत्रको औपचारिक घोषणा गरिएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टको नेतृत्वमा मन्त्रालयका सचिवद्वय चन्द्र घिमिरे तथा डा. बैकुण्ठ अर्याल सहितको टोली, प्रतिनिधि सभा सदस्य डा. दीपक प्रकाश भट्ट, प्रदेश सभा सदस्य मान बहादुर सुनार सहित स्थानीय जनप्रतिनिधि र नागरिकको उपस्थितिमा आइतबार एक कार्यक्रमका बीच सुख्खा बन्दरगाह निर्माण क्षेत्रको औपचारिक घोषणा गरिएको हो ।

महाकाली नगरपालिका वडा नम्बर १ स्थित मायापुरी बन र गौरीशंकर बन क्षेत्रमा निर्माण हुने सुख्खा बन्दरगाहको प्राविधिक कार्य अन्तिम चरणमा पु्गेको उद्योग वाणिज्य तथा आपुर्ति मन्त्री लेखराज भट्टले बताए । यसअघि दोधाराचाँदनीकै कञ्चनभोजमा सुख्खा बन्दरगाहका लागि प्रस्ताव गरिएपनि नेपाल भारत द्विदेशीय सम्बन्ध र समझदारीका कारण स्थान परिवर्तन गरी बन क्षेत्रमा निर्माण गर्ने तय भएको मन्त्री भट्टको भनाइ छ । उनले उक्त क्षेत्रमा द्रुत गतिमा सुख्खा बन्दरगाह निर्माण गरिने दाबी गरे ।

Advertisement

सुख्खा बन्दरगाह निर्माण क्षेत्रको औपचारिक घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री भट्टले अन्तरदेशीय विशेष आर्थिक क्षेत्रका रुपमा पश्चिम नेपालका चार ठाउँलाई प्रस्ताव गरिएको बताए । दैजी छेला औद्योगिक क्षेत्र, अत्तरिया धनगढी औद्योगिक करिडोर, हरैइया डुडेझाडी औद्योगिक क्षेत्र र बाँकेको औद्योगिक क्षेत्र सहित पूर्वदेखि पश्चिम, दक्षिण देखि उत्तरसम्मका औद्योगिक एवं आर्थिक क्षेत्रलाई चेनका रुपमा जोड्ने मन्त्रालयको योजना रहेको मन्त्री भट्टको भनाइ छ ।

त्यस्तै, मन्त्रालयका सचिव सहितको प्राविधिक टोलीले सुख्खा बन्दरगाहका लागि प्राविधिक अध्ययन र सुख्खा बन्दरगाह निर्माण पश्चात हुने फाइदाका बारेमा उक्त क्षेत्रका नागरिकलाई जानकारी गराएको छ । कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर ३ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य डा. दीपक प्रकाश भट्टले दोधाराचाँदनीमा बन्ने सुख्खा बन्दरगाहले नेपाल, भारत र चीन गरी त्रिदेशीय सम्बन्ध जोड्ने र पश्चिम नेपालबाट विकासको ढोका खुल्ने विश्वास व्यक्त गरे । प्रदेश सभा सदस्य मान बहादुर सुनारले सुख्खा बन्दरगाह निर्माण संगै अन्य विकास निर्माणका कार्यमा समेत सहयोग पुग्ने बताए ।

Advertisement

महाकाली नगरपालिकाका नगरप्रमुख बीर बहादुर सुनारले झोलुंगे पुलले मात्रै नेपालसंग सम्बन्ध जोडिन पुगेको महाकाली नदि पश्चिमको दोधाराचाँदनी क्षेत्र सुख्खा बन्दरगाह, महाकाली नदिमा निर्माणाधिन पक्की पुल र महाकाली करिडोरले प्रमुख व्यापारिक केन्द्र बन्ने अपेक्षा राखेका छन् । सुख्खा बन्दरगाह क्षेत्रको औपचारिक घोषणा पश्चात मन्त्री भट्ट सहितको टोलीले महेन्द्रनगरमा अन्तरक्रिया कार्यक्रम र कञ्चनपुरकै वेदकोट नगरपालिका वडा नम्बर २ र ३ स्थित दैजी छेला औद्योगिक क्षेत्र स्थापना हुने स्थानमा विशेष कार्यक्रमलाई समेत सम्बोधन गरेको बताइएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top