लुक्ला र गोरक्षेपबाट लुक्ला पुगेका थिए ठोक्किएका हेलिकप्टर..

१७ कात्तिक २०८३, मंगलबार
Share this
752shares

१७ कार्तिक , काठमाण्डौ ।

Advertisement

आज बिहान सगरमाथा क्षेत्रमा अवतरण गर्न खोज्ने क्रममा दुई हेलिकोप्टर आकाशमै ठोक्किँदा दुखद दुर्घटना भएको छ । जसमा परि एक भारतीय नागरिकको मृत्यु भएको छ । यस्तै भारतीय मूलका एक न्युजिल्यान्डवासी घाइते भएका छन् । प्रहरीका अनुसार मृत्यु हुनेमा भारतीय नागरिक वसन्त कुमार बालारमुडु रहेका छन् ।

यसबारेमा नेपाल नागरिक उड्डयन प्राधिकरणले पनि पुष्टि गरेको हो । एयर डाइनेस्टी र फिस्टेल एयरका दुईवटा हेलिकप्टर एकापसमा ठोक्किएका हुन् । जसमा परि भारतीय मूलका न्युजिल्यान्डका नागरिक शैलेश कृष्ण पटेल र फिस्टेल एयरको हेलिकोप्टरका पाइलट इन कमान्ड रवीन्द्र प्रधान घाइते भएका हुन् ।

Advertisement

यस्तै एयर डाइनेस्टीका क्याप्टेन प्रजल केसी पनि घाइते छन् । घाइतेको थप उपचारका लागि प्रभु हेलिकोप्टरमार्फत उद्धार गरी राजधानीको मेडिसिटी अस्पताल पु¥याइएको हो । सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–४, फेरिचेमा लुक्ला र गोरक्षेपबाट उडेर आएका हेलिकप्टर अवतरण गर्ने क्रममा एकआपसमा ठोक्किँदा दुर्घटनामा परेका हुन् ।

मंगलबार बिहान करिब ८ः११ बजे फेरिचेस्थित हेलिप्याडमा अवतरण गर्ने क्रममा एयर डाइनेस्टी र फिस्टेल एयरका हेलिकप्टरहरू एकापसमा ठोक्किएर दुर्घटनाग्रस्त भए । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका महाप्रबन्धक टेकनाथ सिटौलाका अनुसार एयर डाइनेस्टीको ९ एन–एओडी हेलिकप्टर लुक्लाबाट उडेको थियो भने फिस्टेल एयरको ९ एन–एजेआर हेलिकप्टर गोरक्षेपबाट दुई जना विदेशी पर्यटक लिएर फेरिचे पुगेको थियो ।

प्रहरीका अनुसार दुर्घटनामा परी फिस्टेल एयरमा सवार भारतको तमिलनाडु राज्यस्थित चेन्नई घर भएका अन्दाजी ४७ वर्षीय वसन्तकुमार बलरामुडुको मृत्यु भएको हो । उनको शवलाई मुचुल्काका लागि लुक्ला विमानस्थल ल्याइएको थियो ।

यी दुई हेलिकप्टर अवरणका क्रममा भएको दुर्घटनाको प्रारम्भिक कारण पत्ता लगाउन लुक्लाबाट नेपाल नागरिक उड्डयन प्राधिकरणले एक प्राविधिक टोली परिचालन गरेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थका प्रवक्ता सञ्जय कुमारले बताएका छन् ।

उनका अनुसार प्रारम्भिक कारण छिटो आउँछ भने दुर्घटनाको विस्तृत अध्ययन र यस्तो प्रकृतिको दुर्घटना अब नहोस् भन्ने विषयममा गरिने विस्तृत अध्यनका लागि भने दुर्घटना जाँच छानविन आयोग बन्ने छ । छानविनपछि भने विस्तृत कारणसहितको जानकारी आउने उनको भनाइ छ ।

प्राधिकरणले जारी गरेको विज्ञप्तिअनुसार एयर डाइनेस्टी हेली सर्भिस प्रालिले सञ्चालन गरेको ९एन–एओडी दर्ता नम्बरको एएस ३५० हेलिकोप्टर लुक्ला विमानस्थलबाट सोलुखुम्बुको एउटा हेलिप्याडमा कार्गो उडानमा गएको थियो ।

अर्को हेलिकोप्टर फिस्टेल एयर प्रालिले सञ्चालन गरेको ९ एन–एजेआर दर्ता नम्बरको एएस ३५० हो, जुन दुई विदेशी नागरिकलाई लिएर सोलुखुम्बुको गोरक्षेपबाट उडेको थियो । सामाजिक सञ्जालमा सार्वजनिक भिडियोमा एयर डाइनेस्टीको हेलिकोप्टर जमिनमा रहेका कर्मचारीको चेतावनीका बाबजुद तीव्र गतिमा ओर्लिरहेको देखिन्छ ।

हेलिप्याडनजिक पुग्दा विपरीत दिशाबाट अवतरण गर्न लागेको फिस्टेल एयरको हेलिकोप्टरसँग त्यो ठोक्किएको देखिन्छ । दुवै हेलिकोप्टर जमिनबाट २–३ मिटर माथि हुँदा फिस्टेल एयरको हेलिकोप्टरको रोटर पङ्खाले एयर डाइनेस्टीको हेलिकप्टरको यात्रु कक्षका सिसामा हिर्काएको थियो ।

दुर्घटनाको सही कारण अझै यकिन भएको छैन ।‘प्रारम्भिक प्रतिवेदनले पाइलटहरूबीच मिसकम्युनिकेसन भएको संकेत गर्छ, किनभने त्यो क्षेत्र लुक्ला विमानस्थलको हवाई यातायात नियन्त्रण टावरको कभरेजबाहिर पर्छ र पाइलटहरूले एकअर्कासँग नै सञ्चार गर्नुपर्छ,’ नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक मुकेश डंगोलले भने, ‘हामी घाइते पाइलटको बयान लिइरहेका छौँ ।’

यसअघि सन् २०२३ को जुलाईमा सोलुखुम्बु जिल्लाको लमाजुरा क्षेत्रमा मनाङ एयरको हेलिकोप्टर दुर्घटनामा परी सवार सबै ६ जनाको मृत्यु भएको थियो । मृतकमा एउटै परिवारका पाँच मेक्सिकन पर्यटक (जसमा दुई पुरुष र तीन महिला) र नेपाली पाइलट क्याप्टेन चेत बहादुर गुरुङ थिए ।

मनाङ एयरको एएस ३५० बी३ई हेलिकप्टर सगरमाथा क्षेत्रको अवलोकन उडानपछि काठमाडौं फर्कँदै थियो । विश्वका सबैभन्दा प्रसिद्ध हिमाली गन्तव्यमध्येको सगरमाथा क्षेत्रमा बढ्दो उडान संख्यालाई लिएर हेलिकोप्टर सञ्चालक र स्थानीय समुदायबीच लामो समयदेखि चलिरहेको तनावको पृष्ठभूमिमा यो दुर्घटना भएको हो ।

सन् २०२५ डिसेम्बर १२ मा स्थानीय पालिका र सगरमाथा राष्ट्रिय निकुञ्जले निकुञ्जमाथि अवलोकन उडानमा रोक लगाउने निर्देशन जारी गरेका थिए । त्यतिबेला उद्धार कार्यलाई भने छुट दिइएको थियो । त्यो प्रतिबन्ध सन् २०२६ जनवरी १ देखि लागू हुने तय गरिएको थियो ।

८ हजार अमेरिकी डलरको सगरमाथा हेलिकोप्टर अवलोकन उडानमा लुक्लासम्म चार जनासम्म जान सकिन्छ । तर लुक्लाबाट उडेर सगरमाथा आधार शिविर (५,३६४ मिटर) नजिकैको कालापत्थर (५,६४४ मिटर) मा अवतरण गर्न दुई जना यात्रु मात्र जान पाइन्छ ।

हेलिकोप्टरलाई आधार शिविरमाथि उड्न अनुमति छ, तर त्यहाँ अवतरण गर्न पाइँदैन । फर्कँदा भने उनीहरूले चार जना यात्रु बोक्न सक्छन् । हेलिकोप्टर सञ्चालकले फर्कँदा पदयात्रीलाई लिएर जाने गरेकाले स्थानीयले रोजगारीको अवसर गुमाएको गुनासो पनि गरेका छन् ।

सगरमाथा आधार शिविरसम्मको पदयात्रा सामान्यतया करिब १४ दिन लाग्छ । प्राधिकरणले सन् १९६६ देखि अभिलेख राख्न थालेयताको अवधिमा देशभर कम्तीमा २२ वटा गम्भिर खालका हेलिकोप्टर दुर्घटना भएका छन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top