१८ कात्तिक, सुनसरी ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीद्धारा नेपाल प्रहरीका सईसहित तीनजनालाई ५० हजार रुपैँया घुस रकमसहित पक्राउ गरेको छ ।
सप्तरीको प्रहरी चौकी तिलाठीमा कार्यरत प्रहरी नायब निरीक्षक सिकन्दर प्रसाद कानुसहित तीन जनालाई अख्तियार इटहरीले घुस रकमसहित पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा सई कानुसहित प्रहरी जवान रामईश्वर मण्डल र स्थानीय व्यापारी जयनारायण यादव रहेका छन् । उनीहरुलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीको कार्यालयले आइतबार ५० हजार रुपैयाँ घुस रकमसहित पक्राउ गरेको हो ।
अख्तियार इटहरीका अनुसार प्रहरी सई कानुले पक्राउ गरी चौकीमा राखेको मोटरसाइकल फिर्ता दिने प्रयोजनका लागि सेवाग्राहीसँग घुस मागेका थिए । पक्राउ परेका उनीहरुमाथि थप अनुसन्धान भइरहेको अख्तियार इटहरीले जनाएको छ ।
