२१ कात्तिक, काठमाडौं ।
भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरवणे तीन दिन नेपाल भ्रमण सकेर स्वदेश फर्किएका छन् । नरवणे शुक्रबार साढे ४ बजे भारतीय वायु सेनाको चार्टर्ड विमानमार्फत दिल्ली गएका हुन् ।
भ्रमणको अन्तिम दिन नरवणेले प्रधानमन्त्री एवं रक्षामन्त्री केपी शर्मा ओलीसँग पनि भेटवार्ता गरेका छन् । भेटका क्रममा ओलीले नेपाल र भारतबीच असल मित्रता रहेको र कतिपय विषयमा दुई देशबीच रहेका समस्या संवादमार्फत् समाधान हुने विश्वास व्यक्त गरेका छन् ।
भारतीय सेनाप्रमुख नरवाणेले नेपाल भारतसँग सम्बन्धमा राम्रो हुनुपर्छ भन्ने मान्यताका साथ अगाडी बढीरहेको कुरा बोकेर भारत फर्किन लागेको बताए । नरवाणेले प्रधान सेनापति पूर्णचन्द्र थापासँगको शिष्टाचार भेटमा दुबै देशका सेनाबीच एक आपसमा कसरी सहयोग गर्न सकिन्छ भन्ने विषयमा कुराकानी भएको जानकारी पनि प्रधानमन्त्रीलाई दिएका थिए।
बिहीबार नरवणेले राष्ट्रपति विद्यादेवी भण्डारीबाट मानार्थ महारथीको सम्मान लिएका छन् । योसँगै उनले नेपाली सेनाको मानार्थ महारथीको सम्मान पाउने १८ औं भारतीय सेनाध्यक्ष बनेका छन् । त्यसअघि उनले समकक्षी प्रधानसेनापति पूर्णचन्द्र थापासँग भेटवार्ता गरेका थिए ।
पत्नी विनासहित नेपाल आएका नरवणेले भ्रमणको पहिलो दिन बुधबार धार्मिक क्षेत्रको भ्रमण गरेका थिए । वसन्तपुरस्थित कुमारीको दर्शन गर्न गएका उनी पशुपतिनाथको मन्दिरमा समेत पुगे । शुक्रबार बिहान उनले सगरमाथाको आधार शिविर क्षेत्रमा माउन्टेन फ्लाइट गरेका थिए ।