गैँडाको फेरि चोरी सिकार : १२ वटा मृत गैँडामध्ये ४ वटा चोरी सिकारीद्वारा मारिए

गैँडाको फेरि चोरी सिकार : १२ वटा मृत गैँडामध्ये ४ वटा चोरी सिकारीद्वारा मारिए

भरतपुर: गैँडा चोरी सिकारमा संलग्न रहेको अभियोगमा काराबास जीवन भुक्तान गरेका र तिनका परिवारलाई कसरी गैँडा संरक्षणमा जुटाउन सकिन्छ भनेर गत बुधबार चितवनको सौराहामा छलफल चलिरहेको थियो । छलफलमा काराबास भुक्तान गर्नेले गैँडा संरक्षणमा आफ्ना योजना सुनाइरहेका बेला चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बराललाई खबर आयो “चोरी सिकारीले मारेको गैँडाको माउ र बच्चा (केटा) भेटियो !” पछिल्ला केही वर्षयता निकुञ्जले चोरी सिकार शूून्य वर्ष मनाउँदै आएको बेला यो वर्ष निरन्तर दुुखद खबर आएपछि संरक्षणकर्मी आत्तिएका छन् ।

“गलेर पोस्टमार्टम गर्न नसकिने अवस्थामा माउ र केटा एकै ठाउँमा मृत भेटिएका हुन्”, प्रमुख संरक्षण अधिकृत बराल भन्नुहुन्छ, “माउको खाग काटेर लगेकाले त्यो चोरी सिकारीले मारेकै हो भन्न कठिन भएन ” झन्डै तीन महिनाअघि ती माउ र बच्चा मारेको अनुमान निकुञ्जको छ । त्यो बेला निकुञ्जभित्र गोली चलेको थियो ।

निकुञ्जको पश्चिमी क्षेत्रमा पर्ने लखौनी क्षेत्रमा नेपाली सेनाको गस्ती टोलीले कुहिएको अवस्थाका ती गैँडा फेला पारेको हो । भर्खरै बच्चा जन्माएर सुत्केरी अवस्थामै रहेको गैँडाको माउ मारेपछि त्यो सानो बच्चा पनि मरेको हुनसक्ने निकुञ्ज सुरक्षाकर्मीको अनुमान छ । अघिल्लो दिन माउ र बच्चाको मृत शरीर व्यवस्थापन गर्न नपाउँदै निकुञ्जकै पश्चिमी क्षेत्रमा नै बिहीबार खागविहीन अवस्थामा थप गैँडाको अस्थिपञ्जर भेटियो । “त्यो गैँडा पाँच÷छ महिनाअघि मारेर फालेको हुनुपर्छ । खागविहीन अवस्थामा भेटिएको मृत गैँडाको हाडखोर मात्रै छ”, प्रमुख संरक्षण अधिकृत बरालले भन्नुभयो ।

त्यसो त यसअघि भदौ तेस्रो साता पनि सोही क्षेत्रमा चोरी सिकारीले मारेको आशङ्कामा एक गैँडा भेटिएको थियो । मृत गैँडाको टाउको र ढाडमा चोट भएकाले चोरी सिकारीले नै गँैडा मारेको निकुञ्ज सुरक्षाकर्मीको भनाइ छ ।

यसरी पछिल्लो समय चितवन राष्ट्रिय निकुञ्जभित्र एकपछि अर्को गैँडा मार्न चोरी सिकारी सफल भएका छन् । साउन यता चालू आर्थिक वर्ष ०७७÷७८ मा भेटिएका १२ वटा मृत गैँडामध्ये चारवटा चोरी सिकारीले मारेको निकुञ्जसँग तथ्याङ्क छ ।

चितवन निकुञ्जमा चोरी सिकारीले विगत चार वर्षयता कुनै पनि गैँडा मार्न नसकेको बेला अहिले एक्कासि भटाभट गैँडा मारेर खाग लान सफल भएका छन् । २०७३ चैत यता चार निकुञ्जभित्र चोरी सिकारीले गैँडा मार्न सकेका थिएनन् । आर्थिक वर्ष ०७६÷७७ मा निकुञ्जमा २६ वटा गैँडा मरेकामा सबै कालगतिले मरेका थिए । चोरी सिकारीले मारेको गँैडा भेटिएसँगै निकुञ्जमा चोरी सिकारी लामो समयपछि सलबलाउन थालेका छन् । लामो समयदेखि निकुञ्जमा बाघ, गैँडा संरक्षण अभियानमा जुट्नुभएका निकुञ्जका पूर्वप्रमुख संरक्षण अधिकृत रामप्रीत यादव कोरोना सन्त्रासका बेला नियमित गस्ती तथा सुरक्षाका गतिविधि कम भएको मौका छोपेर चोरी सिकार गर्ने गिरोह सक्रिय भएको बताउनुहुन्छ ।

“वर्षाका बेला सुरक्षा पोस्ट राख्न नसकिएको अवस्था हो । यही बेला कोरोना त्रास पनि थपियो । जुन चोरी सिकारका लागि सुनौलो मौका बन्न पुग्यो”, उहाँले भन्नुभयो । पछिल्लो समय गैँडा चोरी सिकारीमा संलग्न रहेको अभियोग लागेर जेल भुक्तान गरेका भटाभट मुक्त हुँदा उनीहरू नै चोरी सिकारमा फर्किएको उहाँको आशङ्का छ ।

“केही समययता गैँडाको चोरी सिकार गरेको अभियोग लागेका ३० जना कारागार मुक्त भएका छन् । उनीहरूको निगरानी एवं अनुसन्धान निरन्तर राख्न जरुरी छ” उहाँको सुझाव छ । ,याे समाचार गाेरखापत्र दैनिकमा छापिएकाे छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.