२५ कात्तिक, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रक्षामन्त्री मार्क एस्परलाई पदबाट हटाएका छन् ।
उनले ट्वीटरमार्फत् एकजना उच्च अधिकारीलाई पदबाट बर्खास्त गरिएको घोषणा गरेका हुन् । नेशनल काउन्टर टेरोरिजम सेन्टरका प्रमुख क्रिस्टोफर मीलरले रक्षा मन्त्रीको भूमिका निर्वाह गर्ने बीबीसीको खबरमा उल्लेख छ । एस्परलाई निष्कासित गरिएकोबारे कारण भने खुलाइएको छैन ।
पछिल्ला केही हप्ता ट्रम्प र एस्परबीच सार्वजनिक रुपमै फरक मत देखिन थालेको थियो । केही समयअघि जातीय विभेदका विषयमा भएको प्रदर्शन मत्थर पार्नका लागि ह्वाइट हाउसले सेना प्रयोग गर्ने विषयमा एस्पर ट्रम्पको विपक्षमा उभिएका थिए ।
अमेरिकामा डेमोक्रेटिक पार्टीका उम्मेदवार जो बाइडेन राष्ट्रपतिमा निर्वाचित भइसकेको भए पनि ट्रम्पले हार स्वीकार गरिसकेका छैनन् । अमेरिकामा आउँदो जनवरी २० मा बाइडेनले पदभार ग्रहण गर्नु अघिसम्म ट्रम्पले निर्णय गर्न पाउनेछन् ।