काठमाडौं: सरकारले चालू आर्थिक वर्षको पहिलो चार महिनामा कोरोना रोकथाम, नियन्त्रण तथा उपचारमा करीब सात अर्ब रुपैयाँ विनियोजन गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले साउन महिना यता उक्त शीर्षकमा छ अर्ब ८१ करोड ५९ लाख छ हजार रुपैयाँ विनियोजन गरेको जनाएको छ ।
मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले प्रेस ब्रिफिङ्गको क्रममा उक्त शीर्षक अन्तगर्त विभिन्न तीन उपशीर्षकमा करीब सात अर्ब निकासा गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार ‘हाइ डेपेन्डेन्सी यूनिट’ स्थापनाका लागि निकासा गरिएको तीन अर्ब ८१ करोड ५९ लाख छ हजार रुपैयाँ निकासा गरिएको बजेटमा जोडिएको छ ।
कोरोना सङ्क्रमितको प्रयोगशाला परीक्षण तथा ब्यवस्थापनमा एक अर्ब १२ करोड ४० लाख रुपैयाँ निकासा गरिएको छ । गत् कात्तिक २ गतेदेखि सरकारले कोभिड–१९ सङ्क्रमितको उपचार र परीक्षण आफ्नै खर्चमा गर्ने निर्णय लागू गरेको थियो । उक्त निर्णयको आलोचना भएपछि स्वास्थ्य मन्त्रालयले सूचीकृत गरेको सरकारी प्रयोगशाला तथा अस्पतालमा लक्षण देखिएका बिरामीको परीक्षण र उपचार सरकारले निशुल्क गर्ने निर्णय गरेको छ । तर बीमा कम्पनीबाट कोरोना बीमा गराएका बिरामीको हकमा बीमा रकमबाट परीक्षण र उपचार बापत्को रुपियाँ भुक्तानी गरिने मन्त्रालयका प्रवक्ता डा. गौतमले प्रष्ट्याउनुभएको छ ।
आईसीयू, भेन्टिलेटर र अस्पताल सुदृढीकरणका लागि मन्त्रालयले एक अर्ब २९ करोड ९० रुपैयाँ निकासा गरेको छ । त्यसैगरी सङ्क्रमित ब्यवस्थापन, कन्टयाक्ट ट्रेसिङ र जोखिम भत्ता बापत् एक अर्ब १४ करोड २९ लाख छ हजार रुपैयाँ निकासा गरिएको मन्त्रालयले जनाएको छ । हाल कन्ट्याक्ट ट्रेसिङ्गको जिम्मेवारी स्थानीय तहलाई दिइएको छ । लक्षण नभएका कोरोना सङ्क्रमितलाई होम आइसोलेशनमै बस्न निर्देशिका जारी गरिएको छ । संस्थागत् आइसोलेशनमा बस्नेभन्दा होम आइसोलेशनमा बस्नेको संख्या अत्याधिक हुँदा सङ्क्रमित ब्यवस्थापनमा खर्च थोरै देखिएको छ । संस्थागत् आइसोलेशनमा हाल दश हजार ५१९ ब्यक्ति बसेका छन् । होम आइसोलेशनमा करीब २८ हजार ब्यक्ति छन् ।,याे समाचार गाेरखापत्र दैनिकमा छापिएकाे छ ।