११ मंसिर, चितवन ।
बिहीबार बिहान चितवनको इच्छाकामना गाउँपालिका–४ मा पर्ने पृथ्वीराजमार्गबाट तल त्रिशूली नदीमा विरामी बोकेको भ्यान खस्दा तीन जना बेपत्ता भएका छन् ।
प्यूठानबाट बिरामी लिएर काठमाडौं जाँदै गरेको सो पिकअप भ्यानमा चार जना रहेका थिए ।
एक जना पौडेर बाहिर आएका छन् । लु १ च ९७३१ नम्बरको भ्यान बिहान साढे पाँच बजे नाग्दी खोला नजिकबाट त्रिशूली नदीमा खसेको थियो ।
चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) सूर्य थापाका अनुसार भ्यानमा रहेकामध्ये प्यूठानका मुकुन्दबहादुर रोक्का नदीबाट पौडी खेलेर बाहिर आएका छन् । चालकसहित अन्य तीन जना बेपत्ता भएका छन् ।
बेपत्ता हुने चालकमा प्यूठान झिम्रुक गाउँपालिका–१ का २३ वर्षीय सूर्य केसी रहेका छन् । नदीबाट बाहिर निस्केका मुकुन्दकी ३३ वर्षीया जमुना र १५ वर्षीया छोरी जिनिसा पनि बेपत्ता छन् ।
जिनिसा बिरामी भएका कारण उपचारका लागि काठमाडौं जाँदै गर्दा उक्त दुर्घटना भएको हो । पौडेर बाहिर आएका मुकुन्दको अवस्था मध्यम छ । उनको भरतपुरमा रहेको पुरानो मेडिकल कलेजको शिक्षण अस्पतालमा उपचार भइरहेको डीएसपी सूर्य थापाले जानकारी दिए ।
नदीमा खसेको पिकअप भ्यान पूरै डुबेको छ । बेपत्ताको खोजी गर्न प्रहरी र सशस्त्र प्रहरी जुटेको डीएसपी थापाले बताए ।