Nepal Times
Nepal Times
3
Shares

वरिष्ठ गायक जगतमर्दन थापाको निधन

वरिष्ठ गायक जगतमर्दन थापाको निधन

२२ मंसिर, काठमाडौं । नेपाली आधुनिक संगीतका ज्येष्ठ गायक जगतमर्दन थापाको निधन भएको छ ।

उनको नर्भिक अस्पतालमा उपचारका क्रममा बिहान १० बजेर २० मिनेटमा निधन भएको हो । लामो समयदेखि अस्वस्थ्य रहेका थापाको एक महिनाभन्दा अघिदेखि नर्भिक अस्पतालमा भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो ।

८५ वर्षका थापालाई कोरोना भाइरसको सङ्क्रमण पनि देखिएको थियो । तर कोरोनामुक्त भइसकेपछि उनलाई स्वास्थ्यमा समस्या देखिएको थियो । छातीमा समस्या बढेपछि उनलाई अस्पताल भर्ना गरिएको थियो।

बाबुको जागिरे जीवनकै क्रममा सप्तरीको बरमझियामा जन्मेका थापाले २०१३ सालबाट नै रेडियो नेपालबाट आÏनो सांगीतिक तथा साहित्यिक यात्रा सुरु गरेका थिए ।

अध्ययनसँगै साहित्य र संगीतमा निरन्तर लागेका थापाले २०१८ सालमा नै कोलकाताबाट हिज मास्टर्स भ्वाइसमा ‘माया लुकाई लुक्दैन’ बोलको पहिलो गीत रेकर्ड गराएका थिए । २०२१ सालमा उनले कथासंग्रह ‘पलाँसको फूल’ ल्याएका थिए ।

थापाले सञ्चय कोष, कृषि चुन उद्योग जस्ता निकायमा रहेर तीन दशकभन्दा लामो सरकारी सेवा गरे । ५० को दशकमा जागिर जीवनपछि पुनः उनी सांगीतिक क्षेत्रमा सक्रिय भएका थिए ।

यसै क्रममा उनले ‘४० वर्ष अघि र ४० वर्ष पछि’, ‘मनको शान्ति’, ‘माया लुकाई लुक्दैन’, ‘म पतझड तिमी मधुमास’, ‘म मक्किएको धुरी खाँबो’ जस्ता एल्बम ल्याए ।

संगीतलाई जीवनको अपरिहार्य तत्वका रुपमा लिएका थापाले ६४ वर्षका उमेरमा शास्त्रीय संगीतको ज्ञानलाई निरन्तरता दिई ७३ वर्षमा भारतको इलाहावाद संगीत विश्वविद्यालयबाट प्रथम श्रेणीमा ‘बी म्युज’ उत्तीर्ण गरेका थिए ।

नेपाली गीतसंगीतलाई मौलिकता झल्कने गरी अमर र अजर बनाउनुपर्छ भन्ने धारणा राख्ने थापा महामारीकालमा पनि ८५ औं जन्मोत्सवको अवसरमा छैटौं एल्बम सार्वजनिक गर्नलाई दौडधुपमा नै थिए ।

थापाको निधनप्रति दुःख व्यक्त गर्दे कलाकार मदनकृष्ण श्रेष्ठले संगीतका अलावा कर्म क्षेत्रमा अडिग र अटल भएर लाग्ने एउटा कर्मठ, मिलनसार र निष्ठावान व्यक्तित्वलाई मुलुकले गुमाएको बताए ।

सञ्चय कोषमा जागिरकै क्रममा आधा दशकभन्दा लामो समय थापासँगै बिताएका श्रेष्ठले भने, ‘उहाँको निधनले पुरानो समयको असाध्यै याद आयो । सञ्चय कोषमा हामीसँगै काम गर्दा उहाँ संगीतको कुरासँगै गाउनु हुन्थ्यो भने मचाहिँ क्यारिकेचर गर्थेँ । मनोरञ्जनका लागि उहाँलगायत हाम्रो छुट्टै टिम नै थियो ।

थापाका एक छोरा र तीन छोरी छन् । परिवारका अनुसार थापाको आजै पशुपति आर्यघाटमा अन्त्यष्टि गरिनेछ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.