२८ मंसिर, काठमाडौं । स्वास्थ्य मन्त्रालयकी सहसचिव शैलजा रेग्मीको नेतृत्वमा सिसिएमसीका प्रतिनिधि डा. अरुण न्यौपाने र इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. वासुदेव पाण्डे सदस्य रहेको समितिले तयार पारेको प्रतिवेदनमा २ कात्तिकसम्म मन्त्रालयको तथ्यांकमा मृतक पाँच सय १३ जना छुटेको पुष्टि गरेको छ ।
सरकारले कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएका सबै नागरिकको तथ्यांक व्यवस्थित रूपमा नराखेको पुष्टि भएको छ ।
कोरोनाबाट मृत्यु हुनेको यकिन तथ्यांक पत्ता लगाउन सरकारले नै गठन गरेको समितिले २ कात्तिकसम्म पाँच सय १३ जनाको नाम स्वास्थ्य मन्त्रालयको तथ्यांकमा छुटेको पुष्टि गरेको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र नेपाली सेनाको तथ्यांक नमिलेपछि सरकारले कोरोनाबाट मृत्यु हुनेको यकिन तथ्यांक पत्ता लगाउन २ कात्तिकमा समिति नै गठन गरेको थियो ।
स्वास्थ्य मन्त्रालयकी सहसचिव शैलजा रेग्मीको नेतृत्वमा कोभिड– १९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी)का प्रतिनिधि डा. अरुण न्यौपाने र इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. वासुदेव पाण्डे सदस्य रहेको समितिले मन्त्रालयको तथ्यांकमा मृतक पाँच सय १३ जना छुटेको प्रतिवेदन तयार पारेको हो ।
समितिले मन्त्रालयमा बुझाए पनि प्रतिवेदन सार्वजनिक भने गरिएको छैन ।
स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार २ कात्तिकसम्म कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या सात सय ३९ थियो । तर, त्यसमा पाँच सय १३ जना छुटेको समितिको प्रतिवेदनमा छ ।
त्यति नै वेला स्वास्थ्य मन्त्रालयको तथ्यांकभन्दा सेनाले शव व्यवस्थापन गरेका मृतकको संख्या चार सय बढी थियो । मन्त्रालय र सेनाको फरक–फरक तथ्यांकपछि अध्ययनका लागि समिति बनाइएको थियो ।
नेपाली सेनाका प्रवक्ता सन्तोषबल्लभ पौडेलले १७ कात्तिकसम्म कोरोना संक्रमणबाट मृत्यु भएका एक हजार चार सयको शव व्यवस्थापन सेनाले गरेको बताएका थिए ।
उक्त दिन स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नौ सय ८४ जनाको मृत्यु कोरोनाबाट भएको जानकारी दिएका थिए । त्यस दिन पनि मन्त्रालयभन्दा सेनाको तथ्यांकमा मृतकको संख्या चार सय १६ बढी थियो ।
स्वास्थ्य मन्त्रालयले मृत्यु हुनेको संख्या जोड्नेभन्दा पनि उपचारको पाटोमा बढी ध्यान केन्द्रित गरेकाले सेना र स्वास्थ्य मन्त्रालयको तथ्यांक फरक पर्न गएको अधिकारीले बताएका छन् ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले कोभिडले मृत्यु नभएको बताएका कतिपय शव पनि सेनाले नियन्त्रणमा लिएर व्यवस्थापन गरेको प्रतिवेदनले देखाएको छ ।
समितिका एक सदस्यले सेनाले शव व्यवस्थापन गर्दा मृत्यु समय, कोभिड रिपोर्ट र वडा कार्यालयको सिफारिसका आधारमा गरेको देखिएको र यसले तथ्यांक तलमाथि देखिएको बताए ।
‘सेनाले आइसोलेसन र क्वारेन्टिनमा झुन्डिएका, बाटोमा ल्याउँदा–ल्याउँदै मृत्यु भएकाको कोभिड प्रमाणका आधारमा तथ्यांक राखेको छ,’ ती अधिकारीले नाम उल्लेख नगर्ने सर्तमा भने, ‘स्वास्थ्य मन्त्रालयले बाटोमा, होम आइसोलेसनमा र क्वारेन्टिनमा मृत्यु भएकाको संख्या छिटफुटबाहेक समावेश गरेको छैन, जसले २ कात्तिकअघिको तथ्यांकमा पाँच सय बढी फरक पर्न गएको देखियो ।’ (नयाँ पत्रिका)
