२९ मंसिर, काठमाडौं । काठमाडौंको चन्द्रागिरिमा मिनी ट्रक खस्दा दुई जनाको मृत्यु भएको छ।
चन्द्रागिरि नगरपालिका-२ वाडभञ्ज्याङस्थित सडकबाट ना २ क ३२३ नम्बरको ट्रक दुई सय मिटर तल खस्दा दुई जनाको मृत्यु भएको हो।
मृत्यु हुनेमा सिन्धुलीका २३र२४ वर्षीय मनिष कार्की र २५र२६ वर्षीय मानकुमार माझी रहेको महानगरीय प्रहरी परिसर, काठमाडौंका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रमेश विष्टले जानकारी दिए।
प्रारम्भिक रूपमा उक्त मिनी ट्रक दामन कन्स्ट्रक्सनको भएको बुझिएको छ।
यीमध्ये कसले ट्रक चलाएको भन्ने खुलेको छैन। यद्यपि मानकुमार माझी ट्रयाक्टर चलाउँथे भने कार्की कन्स्ट्रक्सनका सुपरभाइजर भन्ने बुझिएको उनले जानकारी दिए।
महानगरीय प्रहरी वृत्त, थानकोटका प्रहरी नायब उपरीक्षक घनश्याम श्रेष्ठका अनुसार उक्त मिनी ट्रक आइतबारदेखि हराइरहेको थियो।
’हिजोदेखि हराएको भन्ने कुरा छ। हिजो नै खसेको वा आजमात्रै हो भन्ने हामी बुझ्दैछौं,’उनले भने,’अहिले हामी रेस्क्यू गर्न खटिएका छौं।’
