जनप्रतिनिधिको लोभलाग्दो कृषि कर्म

१३ पुस ७७, मंगलबार

१४ पुस, बागलुङ ।
बागलुङ जिल्लाको गलकोट नगरपालिका–११ रिघाका वडा सदस्य श्याम श्रीस सामाजिक कार्यसँगै कृषि पेशामा समर्पित छन् ।

Advertisement

जनप्रतिनिधिले समृद्धिको मात्र कुरा गर्ने आफूले केही नगर्ने परिपाटी र गुनासो व्याप्त भएको बेला वडा सदस्य श्रीस भने १० वर्षदेखि व्यावसायिक कृषि कर्ममा सक्रिय छन् । श्रीसले व्यावसायीकरूपमै मौरी पालन, बोइलर कुखुरा पालन र तरकारी खेती गरेका छन् ।

पछिल्लो समय वडा सदस्यमा निर्वाचित भएसँगै उनको व्यस्तता बढे पनि परिवारको सहयोगमा व्यावसायिक कर्म अघि बढाइरहेको उनी बताउँछन् । गलकोटबाट अधिकांश युवाहरु जापान तथा युरोपका धेरै देशमा गए पनि ३७ वर्षीय श्रीस २२ वर्षको उमेरबाटै कृषि कर्म र कुखुरा पालनमा आकर्षित भएका थिए ।

Advertisement

“एसएलसी उत्तिर्ण गरेपछि व्यावसायिक कृषितर्फ लाग्ने सोच पलायो, गाउँका धेरै युवा विदेश पलायन भए पनि आफूलाई विदेश जाने कहिल्यै मनमा आएन”, श्रीसले भने, “गाउँमै मेहनत गरेपछि विदेशमा जस्तो आम्दानी स्वदेशमै गर्न सकिने रहेछ ।”

बाह्र वर्षअघि घरमा रहेका पाँच मुढेघारबाट व्यवसाय शुरु गरेका श्रीसको गलकोट घुम्टे मौरीपालन फर्ममा ७० आधुनिक मौरीका घार छन् । शुरुमा मौरीपालनमा आकर्षित भएका श्रीसले मौरौपालन शुरु गरेपछि व्यावसायिकरूपमै कुखुरापालन गर्दै आएका छन् ।

Advertisement

यही फागुनसम्म १०० घार मौरी पुर्याउने लक्ष्यका साथ अघि बढेका श्रीसले दुई वर्षदेखि तरकारी खेतीसमेत गर्दै आएका छन् । उनले चार वटा अस्थायी टनेल निर्माण गरी गोलभेँडा, काउली, बन्दालगायतका मौसमी तथा बेमौसमी तरकारी गर्दै आएका छन् ।

“मौरीपालन मुख्य पेशा हो, आर्थिकरूपमा सबल हुनका लागि कुखुराका साथमा तरकारी खेती गर्दै आएको छु, मौसम राम्रो हुँदा ७०० केजी मह उत्पादन हुन्छ, ७०० कुखुरा फार्ममा कहिलै टुट्दैनन्”, उनले भने, “यसपटक मौसम अलि राम्रो नभएका कारण रु. चार लाखको मात्रै मह बिक्री गरेँ, कुखुराबाट वार्षिक रु. चार लाख हाराहारीमा आम्दानी हुन्छ ।”

वार्षिकरूपमा मह, कुखुरा र तरकारी खेतीबाट रु १२ लाख जति आम्दानी गर्ने गरेको श्रीसले जानकारी दिए । आफू सामाजिक काममा खटिएको समयमा परिवारका सदस्य बाबा, आमा तथा श्रीमतीको सहयोग हुने गरेको छ ।

जनताको सेवामा खटिनु पर्ने भएकाले समयलाई व्यवस्थापन गर्दै आएको उनको भनाइ छ । योजना, बैठक तथा नगरपालिकाको काममा खटिँदा अघिल्लो दिननै काम घटाउने र बिहान सबेरै उठेर तरकारी टिप्ने, कुखुरालाई दाना हाल्ने गर्छन् ।

लोकल यति सेरेना जातको मौरी पाल्दै आएका उनले चरण र हावापानीका लागि रिघा गाउँ उपयुक्त भएका कारण मौरी पालनमा भविष्य राम्रो भएको बताए । उनले घरबाटै प्रतिकेजी रु एक हजारमा मह बिक्री गर्दै आएका छन् ।

उत्पादन हुन सके मह र कुखुरा घरबाटै बिक्री हुँदै आएकाले बजारको समस्या नभएको उनको भनाइ छ । गत वर्ष मौरीपालनबाट कृषि ज्ञान केन्द्र पर्वतले रु दुई लाख ५० हजार अनुदान उपलब्ध गराएको उनले बताए ।

श्रीसको फार्ममा उत्पादन भएको तरकारी हटिया, गुल्मीको वामी, खर्बाङ बजारमा बिक्री हुँदै आएको छ । यही एक महिनाको अवधिमा मात्रै रु ६० हजारको तरकारी बिक्री गरेको र टनेलमा फलेका गोलभेँडा, काउली तथा बन्दा बिक्री गर्न बाँकी छ ।(रासस)

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top