गण्डकी प्रदेशमा आगामी फागुनमा पर्वतीय खेलकुद महोत्सव आयोजना हुने

२१ पुस ७७, मंगलबार

२१ पौष, कास्की । गण्डकी प्रदेशमा आउँदो फागुन २० गतेदेखि पर्वतीय खेलकुद महोत्सव आयोजना हुने भएको छ ।

Advertisement

माउन्टेन स्पोर्टस फेडेरेशनको आयोजनामा परम्परागत तथा शाहसिक पर्वतीय खेलकुदको माध्यमद्वारा दिगो पर्यटनको प्रवर्द्धनको लक्ष्यसहित आठौँ संस्करणको पर्वतीय खेलकुद महोत्सव आयोजना गर्न लागिएको आयोजकले जनाएको छ ।

महोत्सवमा परम्परागत आर्चरी, ठेलो, रक क्लाइम्बिङ, क्यानोइङ, साइक्लिङ, प्याराग्लाइडिङ, क्रस कन्ट्री रनिङ, मोटर स्पोर्टस, टग अफ वार, रिङ रेस्लिङ, घोडा दौड, ट्राइयाथलन, गल्फ, स्केट बोर्डिङलगायतका १५ खेल समावेश गरिएको राष्ट्रिय खेलकुद परिषद्का सदस्यसमेत रहनुभएका महोत्सवका संयोजक सुवर्ण श्रेष्ठले बताए ।

Advertisement

आउँदो चैत २० गतेसम्म सञ्चालन हुने महोत्सवमा ट्राइयाथलन र रिङ रेस्लिङमा अन्तर्राष्ट्रिय खेलाडीसमेत सहभागी हुने उनले जानकारी दिए । रिङ रेस्लिङमा जापान, मलेशिया, सिङ्गापुर, भारत, अमेरिकालगायत देशबाट खेलाडीले प्रतिस्पर्धा गर्ने र ट्राइयाथलनमा एशियाली देशका खेलाडी सहभागी हुनेछन् । महोत्सवमा एक हजार ५०० हाराहारीमा खेलाडी तथा ५०० अफिसियलको सहभागिता रहने दाबी आयोजकको छ ।

गण्डकी प्रदेशको राजधानी सहर पोखरासहित मुस्ताङ, बाग्लुङ, तनहुँ, स्याङ्जा र लमजुङमा महोत्सवअन्तर्गतका खेल सञ्चालनका लागि प्रस्ताव गरिएको संयोजक श्रेष्ठले जानकारी दिए । उनले भने, ’नेपाललाई माउन्टेन स्पोर्ट्स हबको रूपमा स्थापित गर्ने उद्देश्यसहित महोत्सव गर्न लागेका हौँ । गण्डकी प्रदेशमा यसको सफल आयोजनाले यस क्षेत्रमा कोभिड–१९ ले तहसनहस बनाएको पर्यटनलाई अघि बढाउन थप सहयोग पुग्ने र पर्वतीय खेलकुद विकासमा मद्दत पुग्छ भन्ने विश्वास छ ।’

Advertisement

महासङ्घका प्रदेश संयोजकसमेत रहेका गण्डकी प्रदेशसभाका सदस्य इन्द्रधारा विष्टले ‘माउन्टेन स्पोर्टस फेस्टिभल’ गण्डकी प्रदेशमा आयोजना गर्न प्रदेश सरकारसमेत निकै उत्साहित भएको बताउँदै पर्वतीय खेलकुदमा अग्रणी गण्डकी प्रदेशलाई महोत्सवले विश्वसामु थप चिनाउने विश्वास व्यक्त गरे । महोत्सवका लागि सम्बन्धित खेल सङ्घका प्रतिनिधि सम्मिलित १७ सदस्यीय व्यवस्थापन समिति गठन गरिएको छ ।

महोत्सव सम्पन्न गर्न एक करोड ८८ लाख रुपैयाँ खर्च हुने अनुमान रहेको र राष्ट्रिय खेलकुद परिषद्, गण्डकी प्रदेश सरकार, स्थानीय सरकार र प्रायोजक संस्थाबाट सहयोग प्राप्त हने विश्वास लिइएको राखेपका सदस्य सम्पन्न श्रेष्ठले जानकारी दिए । राखेपका सदस्य गोविन्द भट्टराईले पर्यटकको राजधानी गण्डकी प्रदेशमा आयोजना हुने महोत्सवले कोरोनाका कारण एक वर्षदेखि सुस्ताएको पर्यटन क्षेत्रलाई पुनः जागरण ल्याउन र खेल पर्यटनको विकासमा सहयोग पुग्ने बताए ।

यसअघि गण्डकी प्रदेशमा तय भएको नवौँ राष्ट्रिय खेलकुद तोकिएको मितिमा नभएको अवस्थामा पर्वतीय खेलकुद महोत्सव आयोजनाबाट राष्ट्रिय खेलकुदका लागि आधार बन्न सक्ने विश्वास आयोजकको छ । (रासस)

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top