बालेनलाई भेटे जयशंकरले, के कुरा भयो ? भोलिदेखि जनकपुर–अयोध्या रेल चल्ने(भिडिओसहित)

७ मंसिर २०८३, सोमबार
Share this
799shares

७ मंसिर , काठमाण्डौ ।   भारतको २ दिने राजकीय भ्रमणका लागि दिल्ली पुगेका प्रधानमन्त्री वालेन्द्र शाह र भारतीय विदेशमन्त्री एस जयशंकरबीच भारतको नयाँ दिल्लीमा भेटवार्ता भएको छ। नयाँ दिल्लीस्थित होटल ताज महलमा शाह र जयशंकरबीच भेटवार्ता भएको हो। वार्तामा दुवै देशको प्रतिनिधिमण्डल पनि सहभागी थिए । उक्त शिष्टाचार भेटवार्ताका क्रममा नेपाल र भारत सम्बन्धका विविध पक्ष, विशेषगरी कनेक्टिभिटी, व्यापार, पारवहन तथा वाणिज्य, ऊर्जा, संस्कृति, शिक्षा र जनस्तरको सम्बन्धलगायतका क्षेत्रमा सहकार्यबारे छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

Advertisement

प्रधानमन्त्री शाहसँग भेटवार्ताका लागि विदेशमन्त्री जयशंकर होटल ताल महल पुगेका हुन्। प्रधानमन्त्री शाह यही होटलमा बसेका छन्। दुई दिने भारत भ्रमणको पहिलो दिन प्रधानमन्त्री शाहले विदेशमन्त्री जयशंकरसँग भेटवार्ता गर्ने कार्यक्रम तय भएको थियो। सोमबार भारतीय राष्ट्रपति द्रोपदी मुर्मू र प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ। भोलि तल्लो अरुण जलविद्युत् आयोजनाको प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रुपमा शिलान्यास गर्ने भएका छन्। एसजेभीएन तल्लो अरुण पावर डेभलपमेन्ट कम्पनी (एसएलपिडिसी) प्रमुख कार्यकारी अधिकृत पंकज चौधरीका अनुसार शिलान्यासको तयारी अन्तिम चरणमा पुगेको छ। प्रधानमन्त्री शाह र भारतीय समकक्षी मोदीले सोमबार नयाँदिल्लीबाट डिजिटल माध्यममार्फत आयोजनाको शिलालेख अनावरण गर्ने चौधरीले जानकारी दिएका छन् । आयोजना संखुवासभाको चिचिला गाउँपालिका र खाँदबारी नगरपालिका निर्माण हुनेछ। प्रधानमन्त्री शाह दुई दिने राजकीय भ्रमणका क्रममा आइतबार नयाँदिल्ली पुगिसकेका छन्। आयोजनाको क्षमता ६६९ मेगावाट छ। डिजिटल शिलालेख अनावरणको प्रत्यक्ष प्रसारण आयोजनास्थलमा गरिने एसजेभीएन तल्लो अरुण पावर डेभलपमेन्ट कम्पनीले जनाएको छ।आयोजनाको संखुवासभास्थित चिचिला गाउँपालिका र खाँदबारी नगरपालिकामा मुख्य संरचना रहनेछ। आयोजनाका प्रभावित स्थानीयलाई हालसम्म ९९ करोड ९८ लाख ३९ हजार रुपैयाँ मुआब्जा वितरण भइसकेको छ। आयोजना प्रभावित क्षेत्रका करिब २५३ परिवारलाई उक्त रकम वितरण गरिएको हो। सो क्षेत्रमा पाँच लाखदेखि ३४ लाख रुपैयाँसम्म जग्गाको मूल्यांकन गरिएको छ। तल्लो अरुण आयोजना निर्माणस्थलमा पर्ने ६५६ जनाले मुआब्जा पाउनेछन्। आयोजनाले एक अर्ब ४० करोड मुआब्जा वितरण गर्नेछ। आयोजनाबाट २६८ घरपरिवार प्रत्यक्ष रुपमा प्रभावित बताइएको छ। भारतीय कम्पनी सतलज विद्युत् निगमले अरुण तेस्रो जलविद्युत आयोजना निर्माण गरिरहेको छ। निर्माणाधीन ९०० मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत् आयोजनाबाट विद्युत् उत्पादनपछि जम्मा भएको पानी खाँदबारी नगरपालिका–२ चेवाबेसीमा करिब १७.३ किलोमिटर सुरुङबाट विद्युत् गृहमा लगिनेछ।
आयोजनाको अनुमानित लागत ९२ अर्ब ६७ करोड रुपैयाँ छ। लगानी बोर्ड र भारतीय कम्पनीबीच भएको आयोजना विकास सम्झौता (पीडीए) अनुसार निर्माण, स्वामित्व, सञ्चालन र हस्तान्तरण (बुट) ढाँचामा आयोजना निर्माण हुनेछ। व्यापारिक रूपमा विद्युत् उत्पादन गरेको २५ वर्षपछि नेपाल सरकारले चालु हालतमा उक्त आयोजना निःशुल्क पाउनेछ। आयोजनाको निर्माण अवधि पाँच वर्ष रहेको छ। २०८० जेठ १८ गते लगानी बोर्ड नेपाल र एसजेभीएन तल्लो अरुण पावर डेभलपमेन्ट कम्पनीबीच परियोजना विकास सम्झौता (पिडिए) मा हस्ताक्षर भएको थियो। आयोजनाबाट कुल उत्पादित विद्युत्को २१ प्रतिशत नेपालले निःशुल्क प्राप्त गर्नेछ।यता , भोलिदेखि जनकपुरधाम र भारतको अयोध्याबीच सिधा रेल सेवा सञ्चालन हुने भएपछि मिथिलाञ्चल क्षेत्रमा उत्साह छाएको छ। भगवान् रामको जन्मस्थल अयोध्या र माता सीताको जन्मस्थल जनकपुरधामलाई रेलमार्गले जोड्ने यो सेवाले धार्मिक पर्यटन प्रवद्र्धन, सांस्कृतिक सम्बन्ध विस्तार र स्थानीय अर्थतन्त्र चलायमान बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

भोलि प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणका क्रममा मङ्सिर ७ गते नेपाल र भारतका प्रधानमन्त्रीले संयुक्त रूपमा रेल सेवाको शुभारम्भ गर्ने कार्यक्रम तय भएको उत्तर रेल्वे, लखनउ मण्डल रेल प्रबन्धक कार्यालयले जारी गरेको निमन्त्रणामा उल्लेख छ। भारतीय रेल्वेले जनकपुरधाम र उत्तर प्रदेशको अयोध्याबीच साप्ताहिक रेल सेवा सञ्चालन गर्न औपचारिक स्वीकृति दिएको नेपाल रेल्वे कम्पनीका प्रबन्ध सञ्चालक परिवेश पराजुलीले जानकारी दिए। उनका अनुसार करिब ६०४ किलोमिटर दूरीको यो रेल सेवा बिहार र उत्तर प्रदेशका विभिन्न सहर हुँदै जनकपुरधामलाई अयोध्या क्यान्टसँग जोड्नेछ। निर्धारित समयतालिकाअनुसार रेल नम्बर १५५९५ प्रत्येक शनिबार दिउँसो १ः१० बजे जनकपुरधामबाट छुटेर आइतबार बिहान ८ः१० बजे अयोध्या क्यान्ट पुग्नेछ। त्यसैगरी रेल नम्बर १५५९६ प्रत्येक सोमबार साँझ ५ः५० बजे अयोध्या क्यान्टबाट छुटेर मङ्गलबार दिउँसो १२ः४० बजे जनकपुरधाम आइपुग्नेछ।

Advertisement

रेलका जयनगर, मधुवनी, सीतामढी, रक्सौल, नरकटियागञ्ज, गोरखपुर, बस्ती, मनकापुर र अयोध्या धाममा व्यावसायिक बिसौनी रहनेछन्। ती स्थानबाट यात्रु चढ्न र ओर्लन सक्नेछन्।उत्तर रेल्वे, लखनउ मण्डल रेल प्रबन्धक कार्यालयको निमन्त्रणाअनुसार अयोध्या रेल्वे स्टेसनमा विशेष कार्यक्रम आयोजना गरी नयाँ वन्दे भारत एक्सप्रेसलाई हरियो झण्डा देखाएर सेवा शुभारम्भ गरिनेछ। कार्यक्रममा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र नेपालका प्रधानमन्त्री शाह भिडियो कन्फरेन्समार्फत सहभागी हुने कम्पनीका प्रबन्ध सञ्चालक पराजुलीले बताए। होटल तथा पर्यटन व्यवसायी सङ्घ मधेस प्रदेशका अध्यक्ष हिरा गौतमले जनकपुरधाम र अयोध्याबीच रेल सम्पर्क स्थापना हुनु नेपाल–भारतको धार्मिक तथा सांस्कृतिक सम्बन्ध सुदृढ गर्ने महत्वपूर्ण कदम भएको बताए। रामनगरी अयोध्यालाई माता सीतासँग जोडिएको जनकपुरधामसँग जोड्दा रामायण सर्किट प्रवद्र्धनमा सहयोग पुग्ने उनको विश्वास छ।

यो सेवाबाट दुवै देशका तीर्थयात्री, पर्यटक र व्यवसायी लाभान्वित हुने तथा धार्मिक पर्यटनसँगै व्यावसायिक गतिविधि विस्तार हुने अपेक्षा गरिएको गौतमले बताए। जनकपुरधाम र अयोध्याबीच प्राचीनकालदेखि धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक सम्बन्ध रहँदै आएको छ। त्रेतायुगमा भगवान् राम र माता सीताको वैवाहिक सम्बन्धसँग जोडिएका यी दुई धार्मिक नगरीलाई रेलमार्गले जोड्दा धार्मिक आस्थासँगै सांस्कृतिक आदानप्रदान बढ्ने अपेक्षा गरिएको छ। यसले मिथिलाको कला, संस्कृति, परम्परा, खानपान र स्थानीय उत्पादनको प्रचारप्रसारमा समेत सहयोग पुग्ने विश्वास छ। पर्यटकलाई जानकी मन्दिर र राममन्दिर दर्शनमा मात्र सीमित नराखी मिथिलाको सांस्कृतिक जीवन, ऐतिहासिक स्थल र स्थानीय उत्पादनसँग परिचित गराउन सके स्थानीय व्यवसायले थप लाभ लिन सक्ने पर्यटन व्यवसायीको धारणा छ ।

जनकपुरधाममा आयोजना हुने विवाहपञ्चमी, रामनवमी र जानकी नवमीलगायत धार्मिक उत्सवलाई अन्तर्राष्ट्रिय पर्यटनसँग जोड्न पनि रेल सेवाले भूमिका खेल्ने अपेक्षा गरिएको छ ।यस्तै , नेपालले लामो समयदेखि उठाउँदै आएको नयाँ हवाई प्रवेशमार्ग (एयर रुट)का विषयमा महत्त्वपूर्ण सहमति हुने सम्भावना रहेको छ । यस अवसरमा नेपालले झण्डै डेढ दशकदेखि उठाइरहेको नयाँ हवाई प्रवेश बिन्दु ‘एयर रुट’ मा ‘ब्रेक थ्रु’ हुनसक्ने सम्बद्ध पक्षले जानकारी दिएको छ । झण्डै डेढ दशकदेखि कूटनीतिक तथा प्राविधिक तहमा छलफल हुँदै आएको र निष्कर्षमा पुग्न नसकेको यस विषयमा पछिल्लो समय भारतीय पक्ष सकारात्मक देखिएपछि प्रधानमन्त्रीको भ्रमणलाई निर्णायक अवसरका रूपमा हेरिएको छ ।

नेपालले महेन्द्रनगर, नेपालगन्ज, भैरहवा र जनकपुरबाट थप हवाई मार्ग उपलब्ध गराउन भारतसँग आग्रह गर्दै आएको छ । पछिल्लो द्विपक्षीय छलफलमा महेन्द्रनगरबाट ३९ हजार फिट उचाइबाट जहाज प्रवेश गर्न दिन भारत सकारात्मक देखिएको छ । यस्तै, भैरहवा र जनकपुरबाट कम उचाइमा हवाइमार्ग उपलब्ध गराउन भारत सकारात्मक देखिएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनाएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top