२६ पुस,काठमाडौँ ।
ललितपुरको कर्मनासा खोलाको जग्गा हाउजिङको नाममा दर्ता गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललितपुरका तत्कालीन नापी कार्यालय प्रमुख बुद्धिमान जैसीसहित १८ जनाविरुद्ध भ्रष्टाचारमुद्दा दायर गरेको छ । अख्तियारले उनीहरुसँग दुई करोड दुई लाख रुपैयाँका दरले जरिवाना मागदाबी गरेको छ ।
अख्तियारले जैसीसहित नापी अधिकृत बालेश्वर यादव, सर्वेक्षक केशव थापा मगर, मालपोत कार्यालयका प्रमुख बाबुराम खनाल, नासुहरु ख्याम नारायण पौडेल, दिनेश न्यौपाने र खरिदार आत्माराम लुइँटेललाई भ्रष्टाचारमुद्दा लगाएको हो ।
त्यसैगरी युरो हाउजिङ प्राली, यूरो ल्याण्ड डेभलपर्स प्रालीका सञ्चालकहरु गुणीकाजी मानन्दर, योगेश्वर कृष्ण पराजुली, कृष्ण पराजुली, कृष्णराज श्रेष्ठ, टंक बहादुर श्रेष्ठ, गोपालदास मानन्धर, बविन मानन्धर र उज्जल मानन्धरलाई भ्रष्टाचारमुद्दा चलाएको हो । अख्तियारले काठमाडौं अस्पताल प्रालीका सञ्चालकहरु डा. ईश्वरलाल आचार्य र डा. दुर्गामान जोशी अनि श्रीमती दुर्गेश नन्दिनी भट्टचनलाई पनि भ्रष्टाचारको आरोपमा मुद्दा चलाएको छ ।
ललितपुर महानगरपालिका-२३ स्थित सिलौटेमा पर्ने कर्मनासा नामको सार्वजनिक खोला एवं सो खोला आसपासको सरकारी/सार्वजनिक जग्गा यूरो हाउजिङ्ग डेभलपर्स कम्पनीले मालपोत तथा नापी कार्यालयका केही कर्मचारीहरूको मिलेमतोमा २०२२ सालको नापी नक्सालाई तोडमोड गरी नयाँ फाइल नक्सा बनाई सार्वजनिक जग्गासमेत प्लटिङ्ग गरी व्यक्ति विशेषलाई बिक्री गरेको उजुरीको आधारमा उनीहरुमाथि अख्तियारले अनुसन्धान अघि बढाएको थियो ।
मिचिएको जग्गा करिब ८ रोपनी १२ आनाको छ । अख्तियारले सार्वजनिक जग्गा पटक-पटक खरिदबिक्री हुँदै घर बनाएका ३३ जनामाथि समेत मुद्दा दायर गरेको छ ।
