२७ पुस, काठमाडौँ ।
संयुक्त राष्ट्र संघ (यूएन) अन्तर्गत कंगोको शान्ति मिसनमा भएको कुटपिट घटनामा संलग्न नौ जनालाई सैनिक अदालतले कारवाही गरेको छ । घटनामा संलग्न नौ जनालाई उनीहरूले गरेको गल्तीअनुसार सैनिक अदालतले विभिन्न कारबाहीको फैसला गरेको सैनिक प्रवक्ता तथा सहायक रथी सन्तोषबल्लभ पौडेलले जानकारी दिए । असोज ८ गते शान्ति मिसन कंगोमा आन्तरिक रुपमा कुटपिट भएपछि त्यसबारे सामाजिक सन्जालमा बाहिर आएको थियो ।
‘हाम्रो चेन अफ कमान्डमा रिपोर्ट नभइकन सिधै मिडियामा कुरा आयो, विभिन्न किसिमका दोषी हुन्छन्, कमान्ड नमान्ने पनि दोषी हुन्, कुटपिट गर्ने पनि दोषी हुन्छन्,’ प्रवक्ता पौडेलले भने, ‘यी सबै चिजको प्रकृति हेर्दा यसपटक हामीले नौ जनालाई कारवाही गरेका छौं ।’
सेनाले घटना भएलगत्तै सबैभन्दा पहिला कंगोमै कोर्ट अफ इन्क्वायरी (अनुसन्धान) भयो । यहाँ आएर पनि कोर्ट अफ इन्क्वायरी भयो । त्यसपछि कोर्टमार्सल पनि गरिएको हो, जसको फैसला सैनिक अदालतले पुस १६ मा गरेको उनले बताए ।
कारवाहीमा पर्नेमा तीन जना अधिकृत छन् । उनीहरूको बढुवामा एक वर्ष रोक्का गरिएको छ । बाँकी ६ जना अन्य दर्जाका छन् । उक्त घटनामा सहसेनानीत्रय इन्द्र थापा, सुवास हुमागाईं र योगेन्द्र धितालले सैनिक जवान नवराज माझीलाई मरणासन्न हुने गरी कुटपिट गरेका थिए । प्रवक्ता पौडेलका अनुसार नेपाली सेनाको मिडिया नीति र सामाजिक सन्जालसम्बन्धी आचारसंहिताविपरीत कार्य गर्ने एक सैनिकलाई ६ महिनासम्म कैद र भविष्यमा सरकारी सेवामा अयोग्य नठहरिने गरी कारवाही गरिएको छ । मादक पदार्थ सेवन गरेर अधिकृतले दिएको निर्देशन नमान्नेलाई नसियतमात्र दिइएको छ । घटनाका पीडितलाई चाहिँ नसियतमात्र दिइएको प्रवक्ता पौडेलले बताए ।
उनका अनुसार गैरसोसल मिडिया नीति काम गर्ने चार जनामध्ये एक जनालाई दुई वर्ष बढुवा रोक्का, दुई जनालाई एक वर्ष बढुवा रोक्का र एक जनालाई नसियत दिइएको हो ।