१४ माघ, काठमाडौँ ।
प्रतिनिधिसभा विघटनविरुद्धका रिट निवेदनमाथिको जारी सुनुवाइ हेर्दाहेर्दैमा भोलि बिहीबारका लागि तोकिएको छ ।
सर्वोच्च अदालतको संवैधानिक इजलासमा भइरहेको निरन्तर सुनुवाइमा आज पनि रिट निवेदन तर्फकै कानुन व्यवसायीको बहस नसकिएकाले हेर्दाहेर्दैमा भोलिका लागि तोकिएको हो ।
आजको सुनुवाइमा वरिष्ठ अधिवक्ता युवराज संग्रौला, शेरबहादुर केसी र हरिहर दाहालले रिट निवेदकका तर्फबाट बहस गरेका थिए ।
बहसका क्रममा वरिष्ठ अधिवक्ता युवराज संग्रौलाले प्रतिनिधिसभा पुनर्स्थापना नभए संविधानतः प्रतिनिधिसभाको आगामी कार्यकाल २ वर्षमा सीमित हुने बताए।
संवैधानिक इजलासमा जारी आजको बहस पनि बहुमत प्राप्त प्रधानमन्त्रीले गर्नुभएको प्रतिनिधिसभा विघटन वैधानिक हो या होइन भन्ने विषयमा नै केन्द्रित रहेको थियो ।
प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको नेतृत्वमा न्यायाधीशहरू विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र तेजबहादुर केसीको संवैधानिक इजलासले प्रतिनिधिसभा विघटनविरुद्ध परेका १३ वटा रिट निवेदनमा माघ ४ गतेदेखि एकसाथ सुनुवाइ गरिरहेको छ ।