१९ माघ, पोखरा । कास्कीको रुपा गाउँपालिकाले सहिद तथा बेपत्ता परिवारका सदस्यहरुलाई सम्मान तथा उनीहरुको स्वास्थ्य बिमा गरिदिएको छ ।
विभिन्न संघर्ष तथा परिवर्तनका आन्दोलनमा कास्की रुपा गाउँपालिकामा मात्र १८ जना सहिद तथा बेपत्ता भए छन् । १७ जना घाइते छन् भने ४० जना द्वन्द्व पीडित छन् । ८ जनाले जेल जीवन खेपेका छन् ।
गाउँपालिकाले तिनै सहिद तथा बेपत्ता, घाइते, द्वन्द्व पीडित र जेल जीवन भागेका व्यक्तिका परिवारलाई सम्मान तथा विमा गरेको छ ।
गएको फागुन महिनामै यस्ता परिवारलाई सम्मान गर्ने कार्यक्रम तय भएको भएपनि कोभिड–१९ का कारण रोकिएको गाउँपालिका अध्यक्ष नवराज ओझाले बताए ।
पालिकाले त्यस्ता परिवारका सदस्यलाई ताम्रपत्र, दोसल्लाले सम्मान गरेको छ भने परिवारका ५ जनासम्मको स्वास्थ्य विमा गराएको छ ।
त्यस्ता परिवारलाई १ लाख रुपैयाँ बराबरको स्वास्थ्य विमा गरिएको हो । स्वास्थ्य विमाका लागि चाहिने सबै रकम गाउँपालिकाले नै तिरिदिने छ । गण्डकी प्रदेशकी सामाजिक विकास मन्त्री नरदेवी पुनले ती परिवारका सदस्यहरुलाई सम्मान गरिन् ।
सहिद तथा बेपत्ता परिवारका तर्फबाट खिमादेवी बास्तोलाले राजनीतिक दलका नेताले सहिद तथा बेपत्ताका मुद्धालाई विभाजित गर्ने र भाषणको पात्र गराइरहेको भए पनि रुपाले सम्मान गरेकोमा खुसी व्यक्त गरिन् ।