खुर्कोट–दाना प्रसारण लाइनः बागलुङलाई फाइदै फाइदा

२८ माघ, बागलुङ ।
कालीगण्डकी करिडोर प्रसारण लाइन आयोजनाअन्तर्गत २२० केभी क्षमताको दाना–खुर्कोट प्रसारण लाइन र सबस्टेशन तयार भएको छ ।

केन्द्रीय प्रसारण लाइनमा जोडिएको उक्त सबस्टेशनले दूरदराजमा उत्पादन भएको विद्युत्लाई केन्द्रिकृत गर्ने जनाएको छ । दूरदराजमा उत्पादन भइरहेका ठूला आयोजनाको विद्युत् खेर गइरहेको सन्दर्भमा करिडोर प्रसारण लाइन निर्माण भएर केन्द्रीय प्रसारण लाइनमा जोडिएपछि विद्युत् क्षेत्रमा उल्लेख्य टेवा पुग्ने अपेक्षा गरिएको छ ।

पर्वत जिल्ला र म्याग्दी जिल्लामा प्रसारण लाइन तथा सबस्टेशन निर्माण भए पनि बागलुङले समेत यसको प्रत्यक्ष लाभ लिन सक्ने भएको छ । नेपाल विद्युत् प्राधिकरणले एशियाली विकास बैंकको सहयोगमा सन् २०१६ मे ३० मा दाना–खुर्कोट प्रसारण लाइन आयोजना निर्माण शुरु गरेकोे थियो । खोला नदीबाट विद्युत् उत्पादन गरेर मात्रै हुँदैन ।

Advertisement

उत्पादित विद्युत्को यथेष्ट प्रयोग माग र आपूर्तिका आधारमा सम्बन्धित क्षेत्रमा पुर्याउन जरुरी हुन्छ । यसका लागि एक स्थानमा उत्पादन भएको विद्युत् अर्को स्थानमा खपत गर्न सकिने अवसरका लागि केन्द्रीय प्रसारण लाइन र सब–स्टेशन निर्माण गर्नुपर्दछ ।

दाना–खुर्कोट प्रसारण लाइन र सबस्टेशन निर्माणपछि धौलागिरिको उद्योग व्यवसायमा समेत सकारात्मक टेवा पुग्ने आशा गरिएको छ । हालसम्म औद्योगिक ग्राम तथा ठूला उद्योगहरु साविक धौलागिरिका चार जिल्लामा छैनन् ।

Advertisement

अब ठूला उद्योगहरु सञ्चालनमा समेत यसले प्रोत्साहित गर्नेछ । उक्त प्रसारण लाइनले धौलागिरिमा मोदी खोला हुँदै विद्युत् भित्र्याउँदै आएकोमा यसलाई प्रतिस्थापन गरी धौलागिरिको विद्युत् बाहिर पठाउँदै जाने विद्युत् प्राधिकरणले जनाएको छ ।

दाना सबस्टेशनबाट मुस्ताङ जिल्लाको फिडर जोडिएका कारण अब मुस्ताङ जिल्लामा विद्युत्मा समस्या हुँदा बागलुङमा कुनै अवरोध नआउने नेपाल विद्युत् प्राधिकरण बागलुङ वितरण केन्द्रका प्रमुख इञ्जिनीयर शिवनारायण गोशालीले जानकारी दिए ।

उनका अनुसार बागलुङलाई अहिलेदेखि पछि दीर्घकालसम्मका लागि खुर्कोट–दाना सबस्टेशनले फाइदा पुर्याउनेछ ।

“प्रसारण लाइन र सबस्टेशन बागलुङ जिल्ला बाहिर निर्माण भए पनि नजिकै भएकाले बागलुङले समेत फाइदा लिने सुविधा छ”, केन्द्र प्रमुख गोशालीले भने, “एउटै फेडरमा धौलागिरिका चार जिल्ला जोडिएका कारण अन्य जिल्लाको समस्याले बागलुङमा विद्युत् जाने समस्या हुन्थ्यो तर मुस्ताङ नयाँ प्रसारण लाइनमा जोडिएको छ, अब यसबाट बागलुङमा अनियमित विद्युत्को समस्या केही कम हुनेछ ।”

अहिले मुस्ताङमा उत्पादन भएको थापाखोला जलविद्युत् आयोजनाले उत्पादन गरेको १३.४ र म्याग्दीको घलेम्दी जलविद्युत आयोजनाको पाँच मेगावाट विद्युत् करिडोर प्रसारण लाइनले छोएको दाना सब–स्टेशनबाट जोडिएको छ ।

केन्द्रीय प्रसारण लाइनमा दाना नपुग्दासम्म मुस्ताङको थापाखोला जलविद्युत् आयोजना आधा क्षमतामा मात्रै चल्दै आएको थियो । अहिले केन्द्रीय प्रसारण लाइनमा जोडिँदा पूरा क्षमतामा आयोजना चल्न शुरु गरेको छ ।

बागलुङ, पर्वत, म्याग्दी र मुस्ताङमा उत्पादन भएको विद्युत् खुर्कोट सबस्टेशनमार्फत वितरण हुनेछ । अहिले बागलुङमा मोदी सबस्टेशनमार्फत विद्युत् वितरण हुँदै आएको थियो, जुन निर्विकल्प थियो तर नयाँ प्रसारण लाइन तथा खुर्कोट सबस्टेशन बनेपछि बागलुङमा छुट्टै फिडर निकाल्न सकिनेछ ।

कालीगण्डकी करिडोर प्रसारण लाइन आयोजनाअन्तर्गत २२० केभी क्षमताको दाना–खुर्कोट प्रसारण लाइन र सबस्टेशन तयार भएपछि बागलुुङमा छुट्टै फिडर ल्याउने विकल्प तयार भएको छ ।

यदि जिल्लाका लागि छुट्टै फिडरको व्यवस्था गर्न सकिए विद्यमान अनियमित विद्युत् कटौतीको समस्या ९० प्रतिशत कम भएर जाने नेपाल विद्युत् प्राधिकरण बागलुङ वितरण केन्द्रका प्रमुख गोशालीले बताउँछन् ।

पहिला चार जिल्ला एउटै फिडरमा चल्दा एक स्थानमा विद्युत् जाँदा चार जिल्लानै अन्धकार हुन्थ्यो तर अब मुस्ताङ छुट्टै फिडरमा गयो । अन्य जिल्लामा समस्या आउँदा बागलुङमा विद्युत् जाने समस्या छ ।

झण्डै रु २५ करोड खर्चेर खुर्कोट सबस्टेशनदेखि ५०० मिटरको दूरीमा रहेको बागलुङ आउने प्रसारण लाइनमा जोड्न सके अनियमित विद्युत् हटेर जाने गोशालीको भनाई छ ।

“करिब रु २५ करोड लाग्ला, खुर्कोट सबस्टेशन नजिकै १३२–३३ केभीमा १० देखि २० एमभिए ट्रान्सफर्मर राखेर सिधै बागलुङ जोड्न सकिन्छ भने म्याग्दी पनि त्यसैगरी जोड्न सके धौलागिरिका चार जिल्लाकै अनियमित विद्युत् कटौतीको समस्या हटेर जानेछ” गोशलीले भने “धौलागिरिमा विद्युत् क्षेत्रका लागि नयाँ प्रसारण लाइन तथा सबस्टेशन कोसेढुङ्गा सावित हुनेछ ।”

यस्तै कुश्मिशेरा सबस्टेशन निर्माणको क्रममा रहेकाले त्यसलाई पर्वत जिल्लाबाट जोड्न सकिनेछ । यसबाट ठेउलेखोला जलविद्युत् आयोजनासमेत सबस्टेशनमा जोड्न सहज हुनेछ ।

बिद्युत् नियमित भए २५ प्रतिशत व्यवसाय बढ्ने होटल व्यवसायी सङ्घ गण्डकी प्रदेशका संयोजक तथा पर्यटन व्यवसायी अर्जुन चोखालको भनाइ छ ।

“निकै फाइदा हुन्छ, इन्भर्टर बिग्रेको बिग्रेकै हुन्छ, एसी मर्मत गर्न निकै खर्च लाग्छ” चोखालले भने “नियमित विद्युत् आपूर्तिले हरेक व्यवसायलाई फाइदा पुर्याउँछ ।”

विद्युत् आपूर्ति नियमित भए विद्युतीय उपकरण खरिद तथा मर्मत सम्भारको रकम बचत हुनेछ । प्रसारण लाइनमा दुई ठूला आयोजना घलेम्दी र थापाखोला जलविद्युत् आयोजना जोडिएको प्रसारण आयोजनाका प्रमुख चन्दनकुमार घोषले बताए ।

सबस्टेशनसहित ३९.६ किलोमिटर दूरीको दाना–खुर्कोट प्रसारण लाइन निर्माण गर्न टाटा–चिन्ट इलेक्ट्रिक जेभीले रु दुई अर्ब ९० करोडमा ठेक्का लिएर काम सम्पन्न गरेको छ ।(रासस)

Advertisement

भर्खरको समाचार

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

सम्बन्धित समाचार

Scroll to Top