मैले माझी बस्तीकाे एक पैसा पनि हिनामिना गरेकाे छैन : श्वेता खड्का

३० माघ, काठमाडौँ ।
नायिका श्वेता खड्काले आफ्नो पहलमा सिन्धुपाल्चोकको झ्याँडीमा निर्माण भइरहेको एकिकृत वस्तीको बारेमा आएका समाचारहरुको खण्डन गरेकी छिन् ।

आज सामाजिक संजाल फेसबुक मार्फत उनले माझी बस्तीका केही ब्यक्तिहरुसँग लिएको अन्तर्वार्तालाई इडिट गरेर एकिकृत बस्ती निर्माणको परियोजनालाई नै असर पर्ने खालका नकारात्मक सूचनाहरु सम्प्रेषित भइरहेको भन्दै ती समाचारहरु सत्य नभएको बताएकी हुन्।

उनले ती समाचारहरुको यथार्थ के हो भन्ने बारेमा सबै सामु स्पष्ट पार्न चाहन्छु भन्दै जबसम्म मेरो श्वास चलिरहन्छ माझी बस्ती मेरो मन मस्तिस्कबाट हट्ने छैन, भनेकी छिन् ।

Advertisement

खड्काले भनेकी छिन् – मैले श्वेताश्री फाउण्डेशनको नाममा पैसा उठाएर विलासी जीवन बिताएको प्रतिक्रियाहरु पनि देखेको छु । तर जसले मलाई फाउण्डेशनको नाममा पैसा उठाएर त्यसको गलत प्रयोग गरेको प्रमाणित गर्छ त्यो प्रमाणित भएकै दिन जुत्ताको मालासहित कालो मोसो दलेर माझी बस्ती परिक्रमा गर्न तयार छु ।

उनको स्टाटस ः

माझीबस्ती : यथार्थ र भ्रम

अहिलेका केहि दिनहरुमा निर्माणाधिन माझी बस्ती र श्वेताश्री फाउण्डेशन लाई जोडेर केहि मिडिया मार्फत भ्रामक समाचारहरु सम्प्रेषण भई रहेका छन् । ‘श्वेताले माझी बस्तीबाट हात झिकिन्’ शिर्षकका ति भ्रामक समाचारहरुसंगै माझी बस्तीका केहि ब्यक्तिहरुसंग लिएको अन्तर्वार्तालाई इडिट गरेर एकिकृत बस्ती निर्माणको परियोजनालाईनै असर पर्ने खालका नकारात्मक सुचनाहरु सम्प्रेषित भईरहेका छन् । यसरी प्रकाशित र प्रसारित यी समाचारहरुको सत्यता र यथार्थतालाई यहाँहरु सामु स्पष्ट पार्न चाहन्छु ।

३ बर्ष अगाडि माझी बस्ती निर्माणको लागी अगुवाई गर्ने जिम्मेवारीलाई आफ्नो काँधमा बोक्ने शाहस गरिरहँदा त्यो बेलामा मेरो अगाडी र पछाडी मलाई सहयोग गर्नेहरुको लर्को थिएन नत मसंग प्रसस्त धननै थियो । थियो त केवल आत्मविश्वास अनी शाहस । भुकम्पले क्षतविक्षत भएको माझी बस्तिलाई सम्बन्धित सरकारी निकायहरु लगाएत मनकारी दाताहरुसंग जोडीदिने एउटा कडीको रुपमा आफुले भूमिका निर्वाह गर्न सके मात्र पनि एउटा,शान्त र स्वर्गिय बस्ती ठडिन सक्छ भन्ने आत्मविश्वासले घचघच्याएको थियो मलाई । त्यस्कै परीणाम स्वरुप राष्ट्रिय पुनर्निर्माण प्राधिकरण, बाग्मती प्रदेश सरकार लगायतका सरकारी निकाय र बिभिन्न बैकिङ्ग संस्था, मनकारी दाता तथा सहयोगी ब्यक्तिहरुसंगको हात्तेमालोले आज एउटा सुन्दर बस्ती निर्माणको कार्य अन्तिम अवस्थामा पुगिसकेको छ ।

भुकम्पले भाताभुङ्ग बनाएको उदास र उदेकलाग्दो त्यो अवस्थाबाट एउटा सुन्दर, शान्त र मनमोहक बस्तिको रुपमा यो बस्तिले आफ्नो स्वरुप धारण गरिसक्दाको अन्तिम अवस्थामा आएर ‘श्वेताले माझी बस्तीबाट हात उठाईन्’ भन्ने भ्रामक समाचार आउनु आँफैमा हास्यास्पद छ । मैले यस्लाई माझी बस्ती र म बिचको भावनात्मक सम्बन्धलाई चुँडाल्न खोज्ने कुटिल चालको रुपमा लिएको छु । माझी बस्तीभित्रका केही ब्यक्तिहरुलाई क्यामेरा अगाडि उभ्याएर “श्वेताले भुकम्पबाट ढलेको बस्तीलाई उठाएर महापाप गरिछ” भन्ने सन्देश प्रवाह गर्न खोजिनुलाई मैले अनौठो रुपमा लिएकी छैन किनकी राम्रो भित्र नराम्रो खोतल्ने हाम्रो संस्कारनै हो । ५३ घरधुरी भित्र बस्ने ३२२ जना जनसंख्या मध्येबाट केही सिमित ब्यक्तिलाई क्यामेरा अगाडि उभ्याएर मलाई दोषी सावित गर्न खोजिदै गरेको सत्यलाई मैले बुझेकोछु । माझी बस्तीभित्रै रहेर पनि बस्ती निर्माणको कार्यमा असहयोग गर्ने, बिभिन्न कृतिम समस्याहरु खडा गरेर अगुवा युवाह्ररुलाई हतोत्साहित गर्ने अनी टोलका सबै मान्छेले मेहनतको पसिना चुहाउँदै गर्दा इट्टाको एउटा टुक्रा समेत नबोक्ने दुईचार ब्यक्तिहरुलाई छानीछनी अन्तर्वाता लिएर एकिक्रित बस्ती बिकासको कार्यलाई थकाउने, गलाउने र असफल बनाउने प्रयासहरु हुँदैछन्। यस्लाई माझीटोलका अधिकांस ब्यक्तिहरुले पनि राम्ररी बुझेकाछन- नपत्याए बस्ती निर्माणको काममा अहोरात्र खटिने स्थानिय युवाहरुको जमातलाई सोध्दा हुन्छ ।

मैले श्वेताश्री फाउण्डेशनको नाममा पैसा उठाएर विलासी जीवन बिताएको प्रतिकृयाहरुपनी देखेकोछु । तर जस्ले मलाई फाउण्डेशनको नाममा पैसा उठाएर त्यस्को गलत प्रयोग गरेको प्रमाणीत गर्छ त्यो प्रमाणित भएकै दिन जुत्ताको माला सहित कालो मोसो दलेर माझी बस्ती परिक्रमा गर्न तयारछु। तर फाउण्डेशनले कुन तरिका र कस्तो प्रकृयामा कार्य गरिरहेकोछ त्यसको बारेमा झिनो जानकारी समेत नलीई एकलौटी रुपमा आरोप लगाउनु कत्तिको जायज हो ? यही आरोपलाई झुटो सावित गर्नका निमित्त म यथासिघ्र प्रेस मिट आयोजना गर्नेछु र मलाई खेद्ने, लखेट्ने र बिचलित तुल्याउने खेलको सप्रमाण पर्दाफास गर्नेनैछु ।

हिजो माझी बस्तिले आर्थिक अभाव झेलेर निर्माणको काम रोक्किदै गर्दा चुईँक्कसम्म नबोल्नेहरु अहिले म तिर फर्किएर प्रश्न गर्दैछन ” तैले त्यो बस्तिमा के योगदान गरिस् ?” मैले बस्ती निर्माणको काम रोक्किदै गर्दा ब्यक्तिगत रकम रु ३२ लाख दिएर काम सुचारु गरेको छु । बिभिन्न दाताले घर बाहेकका पुर्वाधार निर्माणका लागि प्रदान गर्नु भएको आर्थिक सहयोगलाई पनि रिस्क लिएरै उपभोक्ता समितिको खाता मार्फत घर निर्माणकै कार्यमा उपलब्ध गराएको छु ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरण मार्फत माझीटोललाई बजेट मिलाउन प्रपोजलको फाइल बोकेर सयौ पटक सिहँदरवार धाएको छु । कैयौ मिटिङ्ग र झण्झटिलो कागजी प्रकृया पस्चात् मात्र माझिटोलमा सहयोगहरु पुगेको हो । बस्ती निर्माणका क्रममा आएका कैयन बाधाहरुसंग नडराइ अनी हरेश नखाई जुधेकोछु । जीवनमा कसैसंग हात फिंजाएर भिख नमाग्ने प्रण गरेकी मैले माझीटोलको लागि हात फैलाएकी छु, सहयोगको अपिल गरेकीछु तर आजका दिनसम्म कोही कसैलाई जोरजबर्जस्ती गरेर सहयोग दिन लगाएकी छैन । मैले दाताहरुलाई मेरो फाउण्डेशनको खातामा पैसा आउनु पर्छ भनेर कहिल्यै भनेकी छैन । माझिटोलकै उपभोक्ता समिती मार्फत डाइरेक्ट सहयोग गर्न अपिल गरेको छु । विश्वाश छैन भने स्ठानिय उपभोक्ताहरुको बैक खाता र हाम्रो बैक खाता केलाएर हेर्दा हुन्छ । हाम्रो खातामा लाखको कारोबार भएको देखिएला तर उपभोक्ता समितिको खातामा करोडौको कारोबार भएको देखिन्छ ।

यो परियोजना माझीटोललाई जबर्जस्ती लादिएको परियोजना होइन भन्ने बुझ्नलाई स्ठानिय उपभोक्ता समितीसंग भलाकुसारी गर्नु पर्नेहुन्छ ।

बस्ती निर्माण पुर्वनै ८ वटा घरको डिजाईनहरु मध्येबाट हालको डिजाइन रोज्ने स्थानियवासीनै हुन् । नेपाल सरकारबाट भुकम्प पीडितले अनुदान स्वरुप पाउने ३ लाख रकम भित्रै बाट बन्ने घरका डिजाईन पनि नदेखाइएको होइन तर त्यो रकमबाट बन्ने घर अतिनै सानो हुने र आकर्षक नदेखिने भन्दै स्थानियवासिहरुकै सहमतीमा हालको घरको डिजाइन तयार गरिएको हो । घर निर्माणको लागि प्राविधीकहरुले तयार गरेको अनुमानित लागत रु ८ लाख २५ हजार थियो । केही दाताहरुले ढोका लगायत जस्तापाता सहयोग गर्ने प्रतिवद्दता दिए अनुरुप सो सामाग्रीको मुल्य कटाएर ७ लाख मुल्यमा बनाउन सकिन्छ भनी अन्तिम लागत मुल्य निर्धारण गर्ने पनि स्थानीयवासी नै हुन् र घर निर्माणको सम्पूर्ण जिम्मेवारी बोक्ने पनि निर्माण समितिनै हो । सरकारी अनुदान बाहेक अन्य नपुग रकम रु ४ लाख रिण स्वरुप लक्ष्मी बैकबाट लिने भनेर साझा सहमती जुटाउने पनि स्ठानिय उपभोक्ता समितिनै हो । याद रहोस्, सरकारी अनुदान प्राप्त गरेका उपभोक्ताहरुलाई घर निर्माणको कार्यमा कुनै पनि संस्थाले आर्थिक सहयोग गर्न नपाउने प्रावधान छ ।

अत: यही प्रावधानलाई मध्यनजर गरी घर निर्माणको कार्यमा फाउण्डेसनको तर्फबाट जग्गा सम्याउने, प्राविधिक सहयोग गर्ने लगायत निर्माणको लागि आवश्यक ईकुपमेन्ट तथा औजारहरु सहयोग गर्ने भनी पुर्वसहमती भएकै हो । घर बाहेकका नयाँ पुर्वाधारहरु जस्तै बाटो, नाला, सामुदायिक भवन, बाल बगैँचा, स्वागतद्वार, वाटर फाउण्टेन र सेफ्टी ट्याँकी निर्माणको कार्यमा भने स्ठानिय जनताको आर्थिक सहयोग नलाग्ने गरी श्वेताश्री फाउण्डेशनले बिभिन्न निकायहरुसंग आवश्यक समन्वय गर्दै स्रोत जुटाउने भन्ने कुरामा सहमती जुटेकै हो । आजका दिनसम्म पनि सोही सहमती अनुसार कार्य भएकैछ । अत: घर निर्माणको पाटोमा ४ लाख रिण बोक्नु पर्छ भन्ने थाहा भएरै बस्ती निर्माणको लागि तयार हुने ५३ परिवार मध्येका केही ब्यक्तीले अहिले आएर आफुलाई ” नयाँ घर घाँडो भएको” भन्नु कत्ती सम्मको जायज हो ? सार्वजनिक निजी साझेदारी (Public-Private-Partnership ) मोडालिटी अनुरुप जनताको पनि लागानी रहने गरी तयार गरिएको एकिक्रित बस्ती बिकासको यो मोडल ‘दिगो बिकास’को सफल मोडल पनि हो । ‘एनजिओहरुले सबै कुरा गरिदिनु पर्छ’ भन्ने परनिर्भरताको सोचलाई चिर्नको लागि जनताको सहभागीता र लगानीलाई आत्मसाथ गरिएको हो । ४ लाख रिण बोकेका माझी परिवारले रिण मात्रै देख्नु तर आफ्नो अचल सम्पत्तीको मुल्य बढेको नदेख्नु बिडम्बनापूर्ण छ । बस्ती निर्माणपुर्व २५ हजार आनामा बिक्री हुने जग्गाको मुल्य अहिले ९० हजार पुगेकोछ । ७ लाखमा बनेको घरलाई अहिले १२ लाख दिएर खरिद गर्न चाहनेहरुछन् । त्यसो त, माझिहरुले बोकेको रिणको भारी तिर्नको लागि ‘होम स्टे’को परीकल्पना गरिएको छ जस्ले स्वरोजगार सृजना भई आम्दानीको स्रोत हुनेछ र रिण तिर्नको लागि सहजता आउनेछ । यस्को लागि भौतिक पुर्वाधार निर्माणको सम्पूर्ण कार्य सकिनु जरुरी छ । अत: दुरगामी सोच बोकेको यो परियोजनाको मर्मलाई नबुझी यस्को बारेमा गलत अफवाह फैलाउन खोज्नु कत्तिको न्यायसंगत होला ?

यतिखेर माझी टोलमा इट्टा र सिमेण्ट जडित भौतिक पुर्वाधारहरु मात्र बनेका छैनन् । बस्ती बन्दै गर्दा मानसिक रुपमा पनि शसक्त बन्दै गएका स्थानियवासिहरुले आफुमा आएको मानसिक र बौद्दिक बिकासको मुल्याँकन पनि गर्नु पर्ने हुन्छ । बनाएको घर भात्किन्छ तर मानसिक शसक्तिकरण कहिल्यै भत्किंदैन ।

अत: बन्दै गरेको माझी बस्तीलाई सम्पन्न गर्नु मेरो धर्म अनी कर्म हो । मैले अपिल गरेको आर्थिक सहयोग नजुटे पनि त्यो बस्तिलाई सम्पन्न गर्ने जिम्मेवारी मेरोनै हो । म मेरो जिम्मेवारीबाट विमुख हुनेछैन । ‘माझी टोलबाट हात झिकी’ भन्नेहरुलाई म एउटै सन्देश प्रवाह गर्न चाहन्छु ” जव सम्म मेरो श्वास चलिरहन्छ माझी बस्ती मेरो मन मस्तिस्कबाट हट्ने छैन ।” मेरो अतिम इक्ष्या “म मर्दा मेरो लाशको चिता पनि माझी बस्तीको आँगनमा रहेको इन्द्रावती बगरमा बनाईयोस् र मेरो अन्त्यष्टी त्यहीं गरिओस्।”

उही तपाईंकी छोरी /चेली

श्वेता खड्का

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top