शिक्षक हत्यामा संलग्न विप्लवका मोरङ इन्चार्ज कारागार चलान

५ फागुन, विराटनगर ।
मोरङको मिक्लाजुङ गाउँपालिका–१ का शिक्षक राजेन्द्रकुमार श्रेष्ठको अपहरणपछि हत्या गरिएको घटनामा संलग्न नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका मोरङ जिल्ला इन्चार्ज डिबी सिलवाल भनिने धनबहादुर विक कारागार चलान भएका छन्।

Advertisement

जिल्ला अदालत मोरङकी न्यायाधीश दुर्गा खड्काको इजलासले हातहतियार खरखजना मुद्दामा पूर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो । प्रहरीका अनुसार उनी संखुवासभाको मादी नगरपालिका–४ ओखरबोटे घर भएका विकलाई व्यापारीसँग चन्दा लिन जाँदै गरेको अवस्थामा मोरङको बूढीगंगा गाउँपालिका–४ बाट गत माघ ७ गते हतियारसहित पक्राउ परेका थिए । प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईका अनुसार को २४ प ४००५ नम्बरको मोटरसाइकलमा सवार रहेका विकको साथबाट एउटा सेमी अटोमेटिक पेस्तोल, तीन राउण्ड गोली, म्यागजिन, विभिन्न मोबाइल, सिमकार्ड, सवारी चालक अनुमति पत्र बरामद भएको थियो।

अनुसन्धान थाल्दा मोरङको मिक्लाजुङका शिक्षक श्रेष्ठको अपहरणपछि हत्या गरिएको घटनामा पनि उनको संलग्नता देखिएको प्रहरीले जनाएको छ । विकविरुद्ध प्रहरीले हातहतियार खरखजना र अपहरण तथा कर्तव्य ज्यान मुद्दामा अनुसन्धान अघि बढाएको थियो। हतियारका बारेमा अनुसन्धानपछि प्रहरीले मिसिल बुझाएपछि विकलाई प्रतिवादी बनाउँदै अभियोगपत्र तयार पारेर जिल्ला सरकारी वकिल कार्यालयले गत आइतबार उनीविरुद्ध हातहतियार खरखजना मुद्दा अदालतमा दर्ता गरेको थियो।

Advertisement

त्यही मुद्दाको थुनछेक बहस सकिएपछि उनलाई पूर्पक्षका लागि थुनामा पठाउने आदेश इजलासबाट आएको जिल्ला अदालत मोरङका स्रेस्तेदार राजकुमार दाहालले जानकारी दिए।

अघिल्लो दिन थुनामा पुगेका विकविरुद्ध शिक्षक श्रेष्ठको हत्यामा संलग्न रहेको भन्दै गत सोमबार अपहरण तथा कर्तव्य ज्यान मुद्दा पनि अदालतमा दर्ता भएको छ।

Advertisement

कर्तव्य ज्यान मुद्दामा भने विकसहित ‘विप्लव’ समूहका महासचिव नेत्रविक्रम चन्द, पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’समेत गरेर ३५ जनाविरुद्ध दर्ता भएको छ। मुद्दाको बहस भने आगामी आइतबारबाट सुरु गरिने स्रेस्तेदार दाहालले बताए।

सुराकीको आरोप लगाउँदै घरबाटै नियन्त्रणमा लिएर अपहरणपछि ‘विप्लव’ समूहले शिक्षक श्रेष्ठको गत मंसिर २३ गते हत्या गरेको हो।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top