भागरथी हत्या प्रकरणमा यसरी सफल भयो अनुसन्धान

६ फागुन ७७, बिहीबार

उत्तमराज सुवेदी । सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख :

Advertisement

१३ वर्षीया निर्मला पन्तको बलात्कारपछि हत्या भएदेखि प्रहरीले धेरै आलोचना खेप्दै आएको थियो। एकाएक भागरथी भट्टको घटना सार्वजनिक भयो। यस घटनाको पनि दोषी पत्ता लगाउन नसके प्रहरीप्रति सर्वसाधारणको दृष्टिकोण के होला भन्ने चिन्ताले धेरै पिरोल्यो। मैले आफूलाई घटनाको केन्द्रमा राखेर अनुसन्धान गर्ने जमर्को गरें, जुन पीडा भागरथीकी आमालाई थियो।

हामीले विभिन्न शंकाले हेर्‍यौं। कतै सँगै पढ्ने साथीबाटै त यो घटना भएन भन्ने लाग्यो। अनुसन्धान त्यतातिर मोड्यौं। भागरथी कति बजे स्कुलबाट बाहिरिइन् ? उनीसँग कोको थिए ? यस्ता सूचना बटुल्दै जाँदा कक्षा ११ पढ्ने आरोपित छात्रको व्यवहार शंकास्पद देखियो। भागरथीको पछि–पछि दिनेश नै लागेको केही विद्यार्थीबाट थाहा भयो। यो रहस्य भागरथीको शव फेला परेको तेस्रो दिनदेखि खुल्यो।

Advertisement

उनलाई सोधपुछ गर्दा करिब ३५ मिनेट उनी कहाँ गए भन्ने विषय रहस्यमय बन्यो। उनलाई लवलेक जंगलकै आसपास देख्ने व्यक्तिसँग प्रहरीले सनाखत (पुष्टि) गरेपछि हाम्रो अनुसन्धान उनीसँग नै बढी केन्द्रित भयो। भागरथी माघ २१ गते करिब २ बजे खोचलेक बजारमा देखिएकी थिइन्। उनी पौने १ बजे पढाइ पूरा नगरी निस्किसकेका थिए। बीचमा देख्नेले पनि भागरथीको पछिपछि लागेर दिनेश हिँडेको बताएका थिए।

हामीले अनुसन्धानमा दुई सयभन्दा बढीलाई सोधपुछ गर्‍यौं। २२ जनालाई त शंकाकै घेरामा राखेर केरकार गर्‍यौं। तर, उनको व्यवहार, बयान र अन्य प्रामाणिक वस्तुले उनी मुख्य आरोपी हुन् भन्नेमा कुनै दुविधा रहेन।

Advertisement

अनुसन्धानका विभिन्न विधि हुन्छन्। जुन दिन म आफैं कुकुर लिएर घटनास्थल पुगें, त्यही दिन दिनेश घटनास्थलमा पुगेनन्। हामीलाई शंका त्यहीँ लाग्यो। घरमा पनि उनले डराएजस्तो व्यवहार गर्ने र छट्पटाउने गरेको पाइयो। फागुन ३ गते दिनेशलाई सम्झाइबुझाइ केरकार गर्दा बल्ल घटना स्विकारे। उनले पुरानो रिसइबीका कारण हत्या गरेको बताए। अन्य प्रमाणले पनि उनी नै आरोपी हो भन्ने संकेत गरेपछि हामी निक्र्योलमा पुग्यौं। यो घटनामा उनी नै संलग्न हो भन्ने पुष्टि भयो।

पोस्टमार्टम रिपोर्टले भागरथीको घाँटी थिचेर हत्या भएको र यौनसम्पर्कसमेत भएको देखाएको थियो। हामीले प्रहरीकै विधिविज्ञान प्रयोगशालामा शव, कपडा र शरीरका विभिन्न भागमा लागेका चोटको नमुना पठाएका छौं। त्यसको रिपोर्ट आएपछि थप प्रमाण बलियो हुन्छ।,आजको अन्नपूर्ण पोष्ट दैनिकमा समाचार छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top