प्रदेशमा अस्थिरता र अराजकता सिर्जना गर्न अविश्वासको प्रस्तावः मुख्यमन्त्री राई

७ फागुन, विराटनगर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले प्रदेशमा अस्थिरता र अराजकता सिर्जना गर्ने उद्देश्यले आफूविरुद्ध अविश्वासको प्रस्ताव आएको बताएका छन् ।

Advertisement

प्रतिनिधिसभा विघटनसँगै विभाजित नेकपाको प्रचण्ड–माधव समूहले मुख्यमन्त्री राईविरुद्ध १२ पुसमा प्रदेशसभामा अविश्वासको प्रस्ताव दर्ता गराएको थियो । तर ओली समूहले अविश्वासको प्रस्तावमाथि छलफल गर्न दिएको छैन । सत्तारुढ दलले नै प्रदेशसभा बैठक अबरुद्ध गर्दै आएको छ ।

प्रजातन्त्र दिवसको अवसरमा विराटनगरमा आयोजित कार्यक्रममा मुख्यमन्त्री राईले भने, ‘विधि सम्मत ढंगबाट आउने जुनसुकै प्रस्तावको सामना गर्न सरकार तयार छ, सरकार भाग्न खोजेको छैन, पन्छिन खोजेको छैन ।’

Advertisement

उनले अघि भने, ‘हामीले केही वैधानिक प्रश्नहरु उठाएका छौं । ती प्रश्न हाम्रा पद र कार्यकालसँग सम्बन्धित छैनन्, संविधान, कानुनबाट निर्देशित दलीय कानुन र दलीय वैधानिक व्यवस्थासँग सम्बन्धित छन्, त्यसमा हामी लचिलो हुन सक्दैनौं ।’

प्रदेश सरकारले जनताको शीर झुक्ने कुनै काम नगरेको मुख्यमन्त्री राईले बताए । प्रचण्ड–माधव समूहतर्फ इंगित गर्दै उनले भने, ‘कुहिएका फल र सुकेका पत्ताहरु झरे, तर हामी चुकेका छैनौं । सिंगो प्रदेश र प्रदेशवासी जनताको शीर झुक्ने कुनै काम गरेका छैनौं, यो कुरा पनि शीर ठाडो पारेर भन्न चाहन्छु ।’

Advertisement

उनले देश ताजा जनादेशका लागि निर्वाचनमा गएको बताउँदै आगामी वैशाख १७ र २७ गते प्रतिनिधिसभाको निर्वाचन हुने बताए । ‘निर्वाचन हाम्रो चाहना थिएन,’ उनले भने, ‘देशमा अराजकता सिर्जना गर्ने, अस्थिरता पैदा गर्ने प्रयास भएको कारणले प्रधानमन्त्रीले ताजा जनादेशमा जाने निर्णय लिनु भएको छ ।’

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top