पशुपतिमा क्षमापूजा गर्न भारतबाट बोलाइए २५ ब्राह्मण

९ फागुन ७७, आइतबार
Share this
682shares

९ फागुन, काठमाडाैँ ।

Advertisement

पशुपतिनाथ मूल मन्दिरको ज्योतिर्लिङ्गमुनि सुनको जलहरी राख्नुअघि चाँदीको जलहरी मर्मतका लागि क्षमापूजा सुरू भएको छ। क्षमापूजा गर्न दक्षिण भारतबाट २५ ब्राह्मणलाई आमन्त्रण गरिएको छ। क्षमापूजामा ९६ नेपाली ब्राह्मण गरी शनिबारदेखि १२१ ब्राह्मणले शिव र शक्तिको आराधना सुरू गरेको पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. प्रदीप ढकालले जानकारी दिए। आगामी बुधबारसम्म क्षमापूजा हुनेछ।

रणबहादुर शाहको शासनकालमा राखिएको चाँदीको जलहरी जीर्ण भएर जल, पञ्चामृतलगायत पशुपतिनाथलाई चढाइएका सामग्री चुहिएर भित्रसम्म पुग्ने गरेको थियो। वर्षौंदेखि गर्न नसकिएको मर्मत गरी त्यसमाथि सुनको जलहरी राख्नुअघि क्षमापूजा सुरू भएको हो।

Advertisement

वर्षौंदेखि राखिएको चाँदीको जलहरी हटाउने भनी भइरहेको प्रचारप्रसार गलत रहेको कोषले जनाएको छ। चाँदीको जलहरी मर्मत गरी त्यसमाथि सुनको राख्न लागिएको हो। सुनको जलहरी निर्माण पनि सुरू भइसकेको कोषले जनाएको छ। एक हप्तामा सुनको जलहरी राख्ने गरी काम भइरहेको छ।

पशुपति क्षेत्रमै कालीगढ राखेर नेपाली सेनाको सुरक्षासहित सुनको काम भइरहेको छ। मूल मन्दिरको जलहरी सुनको बनाउन संस्कृति, पर्यटन तथा नागरिक उड्डययन मन्त्रालयले रु ३० करोडको सुन नेपाल राष्ट्र बैंकमार्फत उपलब्ध गराएको छ।

Advertisement

सुनको जलहरी बनाउन १०८ किलो सुन लाग्नेछ। गत माघ १२ पशुपतिनाथमा लाख बत्तीसहित विशेष पूजा गर्न पुगेका प्रधामन्त्री केपी शर्मा ओलीले सुनको जलहरी राख्न कोषलाई रु ३० करोड बजेट दिन संस्कृतिमन्त्री भानुभक्त ढकाललाई निर्देशन दिएका थिए।

मूल मन्दिरको छाना र बसाहामा पनि सुनको लेप लगाउने गरी काम भइरहेको छ। यसका लागि करीब ३४ किलो सुन लाग्ने अनुमान गरिएको छ। रु ३० करोडबाहेकको रकम कोषले आन्तरिक स्रोतबाट व्यहोर्ने जनाइएको छ।

महाशिवरात्रिको तयारी

पशुपति क्षेत्रमा महाशिवरात्रिको तयारी पनि सुरू गरिएको छ। विगत वर्षमा एक वर्षअघि नै भारतका विभिन्न अखडाबाट साधुसन्त पशुपति क्षेत्रमा आउने गरेकामा यस वर्ष अहिलेसम्म नआएको कोषले जनाएको छ। यस वर्ष फागुन २७ गते महाशिवरात्रि पर्व परेको छ।

कोरोना महामारीका कारण यस वर्षको महाशिवरात्रिमा विगत वर्षमा जस्तो भीड नहुने अनुमान गरिएको सदस्य सचिव ढकालले बताए। यद्यपि मन्दिरमा आउने जति भक्तजनलाई भने दर्शन गराउने गरी कोषले तयारी सुरू गरेको छ। भारत र नेपालका विभिन्न अखडाबाट महाशिवरात्रिमा पशुपति आउने साधुसन्तको सूची विगत वर्षदेखि नै पहिले नै कोषमा आउने गरेको छ।

कोरोना महामारीका कारण गत वर्ष चैत ११ गतेदेखि बन्द पशुपतिनाथ मन्दिर यस वर्ष पुस १ गतेदेखि बिहान ६देखि अपराह्न २ बजेसम्म खुला गरिएको छ। भक्तजनले दिनभर मन्दिर खुला हुनुपर्ने माग गर्दै आएका छन्।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top