काठमाडौँ, जेठ २७
गृहमन्त्री रामबहादुर थापाले सरकारले शान्ति सुरक्षा, स्थायित्वसहित समृद्धिका लागि सकारात्मक रुपमा अघि बढाएकाले जनतामा आशा जगाएको बताएका छन्।
राष्ट्रिय सभाको आजको बैठकमा समसामयिक विषयमा बोल्दै गृहमन्त्री थापाले सामाजिक अपराधलाई सामाजिक विभेदको अन्त्य गर्दै समृद्धिको बाधकका रुपमा रहेका कुसंस्कार र सामाजिक अपराध नियन्त्रणको कारबाहीलाई प्रभावकारी बनाउँदै लगिएको बताए ।
उनले महिला तथा बालबालिका क्षेत्रमा देखिएका जोखिमका विषयमा छानबीन गर्न समिति बनाएर अगाडि बढाइएको जानकारी दिँदै उनले त्यसतर्फ गृह मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको बताए ।
विखण्डनकारी, अतिवादको अन्त्यका लागि राजनीति तथा प्रशासनिक दुबै कार्यलाई अगाडि बढाइएको भन्दै गृहमन्त्री थापाले शान्ति सुरक्षा र मुलुकको विकासको बाधकका रुपमा रहेको संगठित अपराधको नियन्त्रणमा विशेष अभियान शुरु गरिएको बताए ।
समाजको सदाचारको लज्जाजनक अवस्थामा लागुऔषध तथा मदिरा नियन्त्रण गर्न लागिएको बताउँदै उनले यातायात क्षेत्रको मिलेमतो खारेज भएको र अन्य क्षेत्रमा रहिआएको मिलेमतोलाई नियन्त्रण गर्ने बताए।
विपद् जोखिम न्यूनीकरणका विषय प्रभावकारी बनाउने बताउँदै गृहमन्त्री थापाले क्षतिको आधारमा उद्धार र राहत उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरे । उनले कानून बमोजिम भएका सम्झौताको कार्यान्वयन नगर्ने निर्माण क्षेत्रमा गृह मन्त्रालय गम्भीर भएर लाग्ने बताए।
गृहमन्त्री थापाले सीमा सुरक्षाको क्षेत्रमा सबै सुरक्षा निकायसँग समन्वयात्मक रुपमा परिचालन गरिएको बताए । उनले आगामी आवमा सुरक्षाको विशेष कार्यक्रम सञ्चालन गरिने बताए।
रासस